मंसिर ८, काठमाडौँ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तीहरुको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठक आज बस्दै छ ।
दुवै आयोगमा पदपूर्तिका लागि ६१ जनाको नामावली सार्वजनिक गरेको समितिले पदाधिकारी छनौट गर्न आज बैठक आह्वान गरेको हो । उक्त समितिका संयोजक पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले समितको बैठक बोलाउनु भएको छ ।
गत वैशाखदेखि खाली रहेका दुवै आयोगमा पदपूर्ति गर्नका लागि गठित सिफारिस समितिले आठ महिनापछि अघिल्लो आइतबार ६१ उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो ।
उता, राष्ट्रिय मानवअधिकार आयोगले भने समितिले दलिय भागवण्डा हुने गरी पदाधिकारी नियुक्तीका लागि सिफारिस गरे छनौट प्रक्रियाबाट आफू अलग हुने जनाएको छ । आयोग समितिमा पदेन दस्यका रुपमा उम्मेदवार छनौट प्रक्रियामा संलग्न छ ।
सिफारिस समितिको पदेन सदस्य आयोगले पीडितहरुको न्याय पाउने हकमा आघात हुने गरी भएको कुनै पनि कदममा आफ्नो साथ नरहने भन्दै सूची सार्वजनिक भएलगत्तै समितिलाई सचेत गराइसकेको छ ।
राजनीतिक सहमती बेपत्ता छानबिन आयोगमा पुरानै पदाधिकारी र सत्य निरुपणमा तीन सदस्य पुराना तथा अध्यक्ष र सदस्य भने नयाँ अनुहार ल्याउने गरी समितिले सार्वजनिक गरेको ती नामावलीमाथि कुनै सार्वजनिक प्रतिक्रिया लिन समितिले पाँच दिन छुट्याएको थियो । दुबै आयोगमा दलीय भागवण्डामा पदाधिकारी नियुक्त गर्न खोजीएको भन्दै पिडित र सरोकारवालाले बिरोध गर्दै आएका छन् ।
सत्य निरुपण र बेपत्ता आयोग गठन भएको चार वर्षसम्म पनि कुनै काम गर्न नसकेपछि पीडितहरुले दुबै आयोगमा निश्पक्ष रुपमा काम गर्न सक्ने योग्य र विज्ञहरुको नयाँ नेतृत्व पारदर्शी ढंगले नियुक्त हुनु पर्ने माग गर्दै आएका थिए ।