काठमाडौं, ६ मंसिर ।
निर्वाचन आयोगले उपनिर्वाचनको मुखमा सरकारले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन सुरक्षा समितिको आज आयोगको कार्यालयमा बसेको बैठकले निर्वाचनको मुखमा सरकारले नयाँ प्रदेश प्रमुख नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन गरेको बारे आयोगको गम्भिर ध्यानाकर्षन भएको जनाएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोग निरीह भएको आरोप लगाईरहेका बेला आयोगको यस्तो प्रतिक्रिया आएको हो । निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले काँग्रेसले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको भन्देै आयोग निरीह नभएको बताउनु भयो ।
उहाले आचारसंहिता उल्लंघन गर्ने दल वा व्यक्तिलाई आयोगले स्पष्टीकरण सोध्न सक्ने र कारवाही गर्न सक्ने व्यवस्था भएको बताउनु भयो । साथै आयुक्त पौडेलले ३७ जिल्लाको ५२ पदमा निर्वाचन हुने, त्यसका लागि मतपत्र छापेर पठाई सकिएको, थप मतदाताको परिचयपत्र बनाएर पठाई सकिएको भन्दै डर, त्रास नमानी ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसले सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन प्रचारप्रसारमा लागेको, नयाँ योजना बाँडेर मतदाता प्रभावित बनाएको, बजेट बितरण गरेर आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ ।
उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित बनाउन उपनिर्वाचन हुने ३७ वटै जिल्लामा जिल्लास्तरीय समिति समेत गठन गरिएको छ । उप निर्वाचनको लागि आयोगले कात्तिक ८ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लागु गरेको थियो ।