मंसिर ६, भद्रपुर ।
झापाको भद्रपुर विमानस्थल आजदेखि पुनः सञ्चालनमा आएको छ। विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल सञ्चालनमा आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ सम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो।
निर्माण कम्पनीले इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग बिस्तार, भवनको स्तरोन्नतिलगायतका काम १० दिनको अवधिमा सम्पन्न गरेको जानकारी दिदैँ चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले आजदेखि पुनः विमानस्थल सन्चालनमा आएको बताउनु भयो ।
विमानस्थलबाट अबदेखि नियमित उडान हुनेछ । विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेपछि धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो।
धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। भद्रपुर विमानस्थल बन्द हुँदा हवाई यात्रु विराटनगर भएर काठमाडौँका लागि उडान भर्दै आइरहेका थिए ।