४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । ओलीले पुनर्गठनमा नयाँ अनुहार समावेश गरेका छन् भने केही पुरानैलाई निरन्तरता दिएका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यलयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिएको हो। राष्ट्रपति कार्यलयमा सिफारिस पठाइए पनि शपथग्रहण कार्यक्रम बिहीबार बिहान राखिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथवत् राखिएको छ।
घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रामेश्वर राय यादवलाइ श्रम राेजगार तथा सामाजिक र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने गरी राष्ट्रपति कार्यालयमा नाम पठाइएको स्रोतले जानकारी दियो ।
त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
यस्तै भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए । यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए ।
