काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । सरकारको काम प्रभावकारी, जनमुखी तथा नतिजामुखी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नुभएको हो ।
आज केही पुराना मन्त्रीलाई बिदा दिँदै नयाँ समेटेर आफ्नो मन्त्रीपरिषद् पुर्नगठन गर्ने प्रधानमन्त्रीको तयारी छ । यसबारे हिजो को मन्त्रीपरिषद् बैठकमा उहाँले औपचारीक जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पार्नुभएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गर्नुभएको छ । त्यसयता उहाँले २०७५ जेठमा तत्कालीन संघीय समाजवादी पार्टीका नेताहरूलाई सरकारमा सहभागी गराएका थिए।
त्यसपछि उहाँले आफ्नो अभिव्यक्तिका कारण विवादमा आएका तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
कार्यसम्पादन प्रभावकारी देखाउन नसकेका मन्त्रीलाई बिदाइ गरेर नयाँ मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यस विषयमा उहाँले नेकपा सचिवालय बैठकबाट समेत सैद्धान्तिक सहमति लिनुभएको थियो ।
साथै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालसँग पनि परामर्श गर्नुभएको थियो ।
मन्त्रीपरिषद हेरफेर अघि आजै नेकपाको सचिवालय बैठक बिहान ९ बजे बालुवाटारमा बोलाईएको छ । अध्यक्षद्वय ओली र दाहालले नयाँ बन्ने र फालिने मन्त्रीको नाम टुङगो लगाएपछि सचिवालय बेठक बस्ने र त्यसलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने बालुवाटार स्रोतले बतायो।
को–को फालिँदैछन् ?
मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित हटाउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यथावत् रहन सक्ने मन्त्रीहरू
प्रधानमन्त्रीले मंगलबार साँझसम्म बनाएको यथावत् रहने मन्त्रीको सूचीअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, भूमिसुधार मन्त्री पद्मा अर्याललगायतका मन्त्रीहरूले निरन्तरता पाउने बताइएको छ । यद्यपि यो सूचीमा पनि केही हेरफेर हुन सक्ने र मन्त्रालयसमेत परिवर्तन हुन सक्ने स्रोतले जानकारी दिएको छ ।
थपिने मन्त्रीहरू
स्रोतका अनुसार नयाँ मन्त्री हुने सूचीमा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रभु साह, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नि सापकोटा, खगराज अधिकारी, महेश बस्नेत, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, पार्वत गुरुङ र हृदयश त्रिपाठीलगायतको नाम नेकपाभित्र चर्चा भइरहेको छ । यस नाममा पनि केही हरेफेर हुन सक्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।