काठमाडौं, मंसिर २ ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरुनै कर्मचारीहरूसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा संलग्न रहेको आरोप लगाएका छन्।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको बताए ।
उनले भने ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’
वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गर्दै कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरूमाथि कडा कारबाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ।
उनले मुलुकमा लुट मच्चाउनेहरुको सातपुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।