१ मंसिर,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला नेकपाकाे सचिवालय बैठक बस्न लागेकाे हाे ।
बैठक अपरान्ह ४ बजे सचिवालय बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिए । नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधामनन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताए ।
यसअघि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टी सञ्चालनका सन्दर्भमा लामो छलफल गरिसकेका छन् । पार्टीमा सबै नेतालाई विश्वासमा लिएर अघि बढ्ने सन्देश प्रधानमन्त्रीले दिएको निकट स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली लामो समय उपचारका लागि विदेश जानेबारे छलफल भइरहेको छ । त्यसअघि नै प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने स्राेतले बताएकाे छ ।
पार्टी एकता सम्बन्धी लगभग सबै काम टुंगो लागिसकेकाले अब नियमित काम अध्यक्ष ,महासचिव र सचिवालयमार्फत हुने नेकपा नेताहरु बताउँछन् । सम्भवतः नेकपा स्थायी कमिटी बैठक पनि चाँडै बस्नेछ ।
बिधान अनुसार प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक करिब एक वर्षदेखि बस्न सकेको छैन । स्थायी कमिटी बैठक नबस्दा बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसमेत निर्णय हुन सकेको छैन । त्यसका लागि स्थायी कमिटीबाट विधान संशोधन गराउनुपर्छ ।
पछिल्लो समय आयोग अध्यक्षहरुको समेत निर्णय भइसकेकाले अब आयोग तथा केन्द्रीय निकाय र विभागका सदस्यहरुको एकीकरण हुन बाँकी छ । केन्द्रीय बिभागका सदस्यहरुको बारेमा सम्बन्धित बिभागका प्रमुखले नाम पेश गरेर सचिवालयले टुंगो लगाउने विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।