कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिदैनौंः परराष्ट्रमन्त्री ज्ञवाली

कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिदैनौंः परराष्ट्रमन्त्री ज्ञवाली

  • बिहिबार, कार्तिक २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

बैतडी, २१ कात्तिक ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताउनुभएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि राष्ट्रनिर्माण महामहोत्सवमा उहाँले एक इञ्च पनि सीमा मिच्न नदिइने बताउनुभयो ।

भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाए उल्लेख गर्दै उहाँले भन्नुभयो, “कालापानी हाम्र्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइनेछ ।”

मन्त्री ज्ञवालीले भन्नुभयो, “मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।” उहाँले वर्षौंदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाउने सहमति भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी आधाआधा हुन्छ, सहमतिमा जोड दिएका छौँ ।” भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको लागि भारत सहमति नजिक रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेका कुरा थाहा पाएको बताउँदै उहाँले भारत सहमति गर्न तयार रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “भारतका विदेशमन्त्री एस जयशङ्करसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।”

समग्र बैतडीकोे औद्योगिक विकासका लागि लोक कल्याणकारी ट्रष्ट महाअभियानअन्तर्गत महोत्सवको आयोजना गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । बैतडीको पञ्चेश्वरमा गुमनाम रहेका पञ्चेश्वर धाम, देवताल, गणमेश्वर धामलगायतको विकाससँगै औद्योगिक ग्राम विस्तारका लागि महोत्सवबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

लोक कल्याणकारी राष्ट्र निर्माण ट्रष्ट सेवाको संयोजनमा पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा सञ्चालन हुने महोत्सव मङ्सिर २ गते सम्पन्न हुनेछ । महोत्सव अवधिभरमा सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीलगायत विभिन्न विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहने थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ