काठमाडौँ, १९ कार्तिक । सरकारको सिफारिसमा नियुक्त भएका सात वटै प्रदेश प्रमुखको शपथग्रहण मंगलबार हुने भएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले मंगलबार सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।राष्ट्रपति कार्यालयले पनि नयाँ प्रदेश प्रमुखहरू शपथग्रहणको कार्यक्रम सोमबार विहान ११ बजेका लागि तोकेको छ ।
नवनियुक्त प्रदेशप्रमुखहरुमा प्रदेश नम्बर–१ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर–२ मा तिलक परियार, प्रदेश नम्बर–३ मा विष्णुप्रसाद प्रसाइँ, गन्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशप्रमुखमा सर्मीलाकुमारी पन्त रहेका छन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रिक्त रहेका सातओटै प्रदेशमा सोमबार प्रदेशप्रमुख नियुक्त गर्नुभएको हो । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकले सातवटै प्रदेश प्रमुखहरुको नाम छानेको थियो ।
नवनियुक्त प्रदेशप्रमुखमा ४ जना पूर्व एमाले र ३ जना पूर्व माओवादी पक्षका छन् । अधिकारी, प्रसाईं, यादव र कलौनी पूर्व एमालेका हुन् भने परियार, शेरचन र त्रिपाठी पूर्व माओवादी पृष्ठभूमिका हुन् ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले पूर्ववर्ति शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको थियो । लगत्तै नयाँ नियुक्त गरिएको हो ।