१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट बालुवाटार फर्किएपछि प्रधानमन्त्री निवासमै मन्त्रिपरिषद बैठक सुरु भएको छ ।
प्रधानमन्त्री को सरकारी निवास बालुवाटारमा आइतबार १२ बजे पछि सुरु भएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था कमजोर भएर अघिल्लो हप्ता ग्राण्डी अस्पतालमा दुई पटक हेमोडायलासिस गरेर फर्किएका थिए । त्यसपछि उनले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । आइतबार प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री ओलीले अस्पतालको मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका हुन् । त्यहाँ प्रधानमन्त्रीको छातीको एक्सरे गरिएको र त्यसक्रममा फोक्सोमा जम्मा भएको पानी अहिले नरहेको पाइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओली परामर्श र सामान्य जाँचका लागि अस्पताल गएर बालुवाटार फर्किएको जानकारी दिए ।