१४ कात्तिक, काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो ।
जिल्ला सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरेको छ ।
मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यसकै दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई आधामात्र सजाय हुने व्यवस्था छ ।
यसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि ५ वर्षको कैद सजाय माग दावी गरेको छ । तर सरकारी वकिल कार्यालयले महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको भन्दै उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरेको छ ।
महराले संघीय संसदको सभामुखको दुरुपयोग गरी कसूर गरेकाले उनीविरुद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिनुभयो ।
उक्त व्यवस्थाअनुसार कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद, ओहोदामा बहाल रहेको अवस्थामा पदको दुरुपयोग गरी कसूर गरेमा डेढ गुणा बढी सजाय हुने उल्लेख छ । यो मागदावी अनुसार महराविरुद्ध सरकारी वकिल कार्यालयले ५ वर्षदेखि साढे ७ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।
नर्भिक अस्पतालमा रहेका महरालाई सरकारकी वकिलको कार्यालयमा उपस्थित गराएर अभियोगपत्रसँगै जिल्ला अदालतमा पेश गरिएको छ ।