असंलग्न आन्दोलनप्रति नेपाल पूर्ण प्रतिवद्ध : प्रधानमन्त्री ओली

असंलग्न आन्दोलनप्रति नेपाल पूर्ण प्रतिवद्ध : प्रधानमन्त्री ओली

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कार्तिक ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न आन्दोलन (नाम)प्रति नेपालको प्रतिबद्ध रहेको बताएका छन् । साथै सबै सदस्य राष्ट्रहरु मिलेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
अजरबैजानको बाकुमा आज सुरु भएको नामको १८ औं शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले पञ्चशील नेपालका छोरा बुद्धको शिक्षाका रुपमा आएको बताउँदै नेपाल यसमा प्रतिबद्ध रहेको जनाएका थिए । सबैसँग मित्रता र कोहीसँग पनि शत्रुता नगर्ने नेपालको नीति रहेको चर्चा गर्दै उनले बाङडुङ सम्मेलनको भावना अनुरुप नै असंलग्न नीति नेपालको संविधानमा नै उल्लेख गरिएको समेत चर्चा गरेका थिए ।

शान्ति,लोकतन्त्र, विकास र मानवअधिकार अन्तरसम्बन्धित भएको सो अवसरमा प्रधानमन्त्रीले बताएका थिए । ६४ वर्ष अघि एसिया र अफ्रिकाका नेताहरुले त्यतिबेलाको आवश्यकता अनुसार असंलन आन्दोलनको प्रार्दुभाव गरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको बडापत्रको सम्मान,राष्ट्रिय स्वतन्त्रताको सम्मान, सार्वभौमिक समानता, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, सबै खालका विवादको शान्तिपूर्ण समाधान जस्ता कुरामा त्यतिबेला जोड दिइएको चर्चा गरे । उनले ती सिद्धान्तको जुनसुकै समयमा पनि महत्व रहेको जनाए ।

विस्तृत लोकतन्त्रको अवस्थामा मात्रै मानवअधिकारको वास्तविक अर्थ हुने जनाउँदै प्रधानमन्त्रीले राजनीतिक अधिकार मात्रै वास्तविक रुपमा व्यक्तिलाई सशक्त पार्न पर्याप्त नभएको जनाए ।

यदि मानिस गाँस र बासको अभावमा रहने अवस्था आयो भने उसको आधारभूत जीवनको अधिकार नै चुनौतिमा पर्ने समेत प्रधानमन्त्रीले जनाए । यसलाई ध्यान दिएर नेपालले सामाजिक सुरक्षा प्रणाली ल्याएको उल्लेख गर्दै यसले मानव जीवनको सबै चक्रलाई समेट्नेसमेत जनाए ।

त्यो अवस्थामा कोहीपनि खाना र आवासबाट बञ्चित हुनु नपर्ने जनाउँदै प्रधानमन्त्री ओलीले विस्तृत खालको लोकतन्त्र विश्वभरी नै प्रचलनमा आउनुपर्ने जनाए । त्यो आफूहरुले सार्वभौम समानता, धम्की र बलको प्रयोग निषेध, आन्तरिक मामिलामा अहस्तक्षेप,सबै देशको सम्मान, शोषणको अन्त्य र सबै देशलाई बृद्धि र विकासको साझा अवसरबाट प्राप्त गर्न सक्ने प्रधानमन्त्रीले जनाए ।

विस्तृत लोकतन्त्रमा लोकतान्त्रिक र समावेशी चरित्र हुनुपर्ने जनाउँदे यसको प्राप्तिका लागि असंलग्न आन्दोलन(नाम) सान्दर्भिक रहेको जनाए । उनले नाम शान्ति, सुरक्षा, न्याय र विकासका लागि पर्याय जस्तै भएको समेत बताएका छन् ।

प्रधानमन्त्रीले विश्वका राष्ट्र कोहीपनि वैभवताविहीन अवस्थामा बस्न नपर्ने र दीगो विकास लक्ष्य भेट्ने अवस्थामा हुनुपर्ने, पृथ्वीको भावी पुस्ताका लागि पृथ्वीको रक्षा गर्नुपर्ने, विश्वव्यापी रुपमा न्यायको सुनिश्चितता मार्फत यसको प्राप्ति सम्भव रहेको समेत प्रधानमन्त्रीले जनाएका थिए ।

उनले नेपालले जलवायु परिवर्तनको विषयलाई महत्व दिएर ‘सगरमाथा संवाद’ कार्यक्रम गर्न लागेको जानकारी समेत गराएका थिए । उनले आउँदो अप्रिल महिनामा ‘हिमालय, जलवायु परिवर्तन र मानवताको भविश्य’ विषयमा विश्वव्यापी संवाद गर्न सगरमाथा संवाद कार्यक्रम राखिएको चर्चा गरेका थिए ।

हामीले हरेक तीन वर्षमा भेटेर गरेका छलफल कति पालना भए, तिनका लागि व्यापक सहमतिको वातावरण बन्यो कि बनेन र गहिरो अवस्थामा रहेका द्वन्द्व समाधानका लागि सबैले ऐक्यवद्धताको भावना देखाएर समाधान खोजियो कि खोजिएन त्यता तिर ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए ।

उनले अब यसलाई अझ प्रभावकारी ढंगले अघि बढाउने समय आएको प्रधानमन्त्रीले बताए ।उनले आफूहरुले नामलाई बलियो र विश्वव्यापी असमानताको अन्त्यका लागि पहल गर्ने निकायको रुपमा चाहेको समेत बताएका थिए ।

शुरुमै प्रधानमन्त्री ओलीले आफू नाम सम्मेलनको सफलताका लागि बुद्ध र सगरमाथाको भूमिबाट सद्भाव लिएर आएको बताएका थिए । उनले नामका नयाँ अध्यक्ष तथा अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभलाई बधाई र कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी उनले अघिल्लो तीन वर्षे कार्यकालको अध्यक्षताको सफलताका लागि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पनि सह्राहना गरेका थिए । प्रधानमन्त्री ओली सो सम्मेलनमा भाग लिन हिजो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीले पहिलो दिनको आजको सम्मेलनमा केही समय बैठकको अध्यक्षता समेत गरेका थिए । प्रधानमन्त्री ओलीले आज बाकुमा भारतका उपराष्ट्रपति बैंकया नायडु र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँगपनि दुईपक्षीय कुराकानी गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले ट्विट मार्फत जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओली शनिबार सम्मेलन समाप्त भएपछि स्वेदशका लागि प्रस्थान गर्ने र आइतबार बिहान आइपुग्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ