काठमाडौं, ८ कार्तिक ।
असंलग्न अभियानको राष्ट्र तथा सरकार प्रमुखहरुको १८ औँ शिखर बैठकको उद्घाटन सत्र अजरबैजानमा सुरु भएको छ । बाकु सम्मेलन केन्द्रमा सम्मेलनको औपचारिक उद्घाटन गणतन्त्र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले गर्नुभएको थियो ।
सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनका प्रतिनिधिहरु सहभागि छन् । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
बाकु कङ्ग्रेस केन्द्रमा प्रधानमन्त्री ओलीलाई गणतन्त्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्णसत्रलाई शनिवार सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
शिखर बैठकको उद्घाटनपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियभलाई सदस्य मुलुकका सहभागी प्रतिनिधिमण्डलका अध्यक्षहरुले सर्वसम्मतिका आधारमा आउँदो तीन वर्षका लागि नयाँ अध्यक्ष चुनेका छन् ।
संयुक्त राष्ट्र सङ्घको महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले पनि उद्घाटन सत्रलाई सम्बोधन गनुृभएको थियो । उहाँले असंलग्न अभियानलाई आधुनिकीकरणको आवाज बन्न तथा अन्तर्रा्ष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो ।
यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।