सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा नेपाल र चीनले गर्दै आएका कार्य अनुभव आदानप्रदान गरिएको थियो ।
छलफलमा समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिले गर्दै आएका काम कारवाहीका बारेमा चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए । समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका साथै उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ ।
चिनियाँ प्रतिनिधिमण्डलले समितिले गर्दै आएको काम कारवाहीका बारेमा समितिका सदस्यबाट जानकारी लिएको थियो । समितिका सदस्य मुकुन्द न्यौपानेले चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना हुने भएकाले नेपालले विशेषगरी चाडपर्वको समयमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको बताएका थिए ।
अनुगमन टोलीले खरीद मूल्य र बिक्री मूल्यका आधारमा उपभोक्ता ठगीमा परेको वा नपरेको भनेर अनुगमन गर्ने गरेको चिनियाँ प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए । त्यस्तै समितिले जनचासोका विषय सम्बोधन गर्न सम्बन्धित मन्त्रीलाई छलफलमा बोलाएर निर्देशन दिने गरेको उनले बताएका थिए ।
सो क्रममा चीनका राज्य प्रशासन तथा बजार अनुगमन सचिव टाङ जुनले नेपालको वाणिज्य समिति र आफ्नो मन्त्रालयले गर्ने काममा धेरै प्रकारको समानता रहेको बताए ।
कार्यक्रममा समितिका सभापति श्रीवास्तवले चीनको उन्नति र प्रगति देखेर आफूहरु अन्त्यन्त खुसी भएको बताए ।
उनले नेपालको द्विपक्षीय व्यापार प्रवद्र्धनका साथै पूर्वाधार विकासमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताए । उनले परिस्थिति अनुकूल भएमा बजार अनुगमनमा चिनियाँ प्रतिनिधिलाई लैजाने बताएका थिए । सो क्रममा चिनियाँ प्रतिनिधिमण्डलले समितिका सदस्यलाई चीन भ्रमणको निमन्त्रणा समेत दिएको थियो ।