एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती:  उपप्रधानमन्त्री पोखरेल

एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती:  उपप्रधानमन्त्री पोखरेल

  • मङ्लबार, कार्तिक ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ, ५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

चीनको राजधानी बेइजिङमा जारी नवौँ बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा आज सम्बोधन गर्दै आफ्नो तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले भोग्नुपरिरहेका जलवायु परिवर्तनका समस्याबारे विकसित र औद्योगिक मुलुकको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन र जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने दिशामा पारस्परिक सहयोगलाई अभिवृद्धि गर्न नेपालले सन् २०२० को अप्रिलमा सगरमाथा संवाद आयोजना गर्न लागेकाले त्यसका लागि आमन्त्रण गर्नुभयो ।

“आजको प्रतिस्पर्धात्मक र बदलिँदो विश्व परिवेशमा साना, मध्यम तथा अतिकम विकसित मुलुकका सुरक्षा र विकासका मुद्दाले अन्तर्राष्ट्रियस्तरमा प्राथमिकता पाउनुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “नेपालले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील र विश्वशान्तिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती रहन्छ ।”

कुनै एक ठाउँको गरीबी सबै ठाउँको सुरक्षा, शान्ति र स्थायित्वका लागि चुनौती भएकाले विकसित मुलुकले आफ्नै सुरक्षाका लागि पनि कम विकसित मुलुकको विकासमा सहयोग गर्न आवश्यक रहेकामा पन उहाँले जोड दिनुभयो ।

एक दशक लामो द्वन्द्वलाई आफ्नै मौलिक शान्ति प्रक्रियाबाट हल गरी नेपाल भर्खरै गणतान्त्रिक संघीय संरचनामा प्रवेश गरेको र मुलुकमा राजनीतिक स्थायित्व र शान्ति कायम भएको जनाउँदै उहाँले वर्तमान सरकारको ध्यान अब आर्थिक समृद्धि र सुशासनलाई प्रवद्र्धधन गर्ने दिशामा केन्द्रित भएको अवगत गराउनुभयो ।

‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन सोचअनुसार वर्तमान सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, उद्योग क्षेत्रको विस्तार, जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रको विकास तथा शिक्षा र स्वास्थ्य क्षेत्रको गुणात्मक सुधारलाई रणनीतिक क्षेत्रको रुपमा पहिचान गरी विभिन्न कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उहाँले विश्वका १४ मध्ये १० उच्च हिमशृंखला भएको, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि तथा कला र संस्कृतिमा धनी देश नेपालले आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले त्यसमा पनि निमन्त्रणा गर्नुभएको रक्षा मन्त्रालयले जनाएको छ ।

विश्वका ६८ देशका ६०० भन्दा बढी प्रतिनिधिले भाग लिएको फोरमको उद्घाटन सत्रमा चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना मन्तव्यमार्फत चीन विश्व शान्ति, स्थायित्व र मानवजातिको संयुक्त समृद्धिको पक्षमा रहेको बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ