असोज २७ काठमाण्डौं । सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्त रुपमा निर्माण गर्ने भएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा ती आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझादारीअनुसार कूल ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण हुनेछन् । ती आयोजनाको कूल लागत दुर्ई खर्ब रुपैयाँभन्दा बढी रहने छ ।
लगानी बोर्डमा पेस गरिएको प्रस्तावमा एचआईडीसीएल र पावर चाइनाले विभिन्न ढाँचा प्रस्ताव गरेका थिए । आगामी एकवर्षभित्र आयोजनाको निर्माणसम्बन्धी सबै तयारी गर्नेछ । माडी जलाशययुक्त आयोजना रोल्पामा अवस्थित छ ।
लामो समयदेखि चर्चामा रहेको तर प्रक्रिया अगाडि बढ्न नसकेको तमोर जलाशययुक्त आयोजनालाई सरकारी–सरकारी कम्पनीबीचको साझेदारीमा निर्माण गर्ने गरी छनोट भएको हो ।
नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको यो पहिलोपटक हो ।
समझदारीपत्रमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार माडी जलाशययुक्त आयोजनामा एचआईडीसीएलको २६ प्रतिशत र पावर चाइनाको ७४ प्रतिशत लगानी रहनेछ । तमोर आयोजनाको ऋण व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले गर्नेछ । सोहीअनुसार नै समझदारी गरिएको पोखरेलको भनाइ छ ।