४ असोज, काठमाडौं ।
नेपाल टेलिकमले देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै फोरजी सेवा सुरु गर्ने गरी तयारी गरेका छ । विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ ।
गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ ।
निजी क्षेत्रको एनसेलले फोरजी बजारको करिब ७४.३ प्रतिशत हिस्सा ओगट्दा टेलिकमको हिस्सा २०.३ प्रतिशत मात्र छ । टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५.४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ ।
देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ ।
पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभर(ले’ रुपमा सञ्चालन गर्ने बताइएको छ ।
मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि ‘स्मार्ट सेल विथ वाइफाइ’ विस्तार गर्न सकिने दावी टेलिकमको छ ।
टेलिकमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने बताएको छ । यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए ।