काठमाडौं १९ असार ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको बताउनु भएको छ । अर्थमन्त्री खतिवडाले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो ।
आजबाट ललितपुरमा सुरु भएको ’सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशिया’ विषयक तेस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि बताउनु भएको छ ।
खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भए पनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैरसरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको स्मरण गराउनु भयो ।
अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानी लगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान निजी क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने पनि बताउनु भएको छ ।