विराटनगर जेठ ५ ।
प्रदेश १ सरकारले महत्वकांक्षी योजनाको रुपमा अघि सारेको शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम अघि वढ्ने भएको छ । संघीय सरकारअन्तर्गत शहरी विकास मन्त्रालय, प्रदेश १ सरकार र मुख्य लगानीकर्ता एसियाली विकास बैंकबीच योजना निर्माणको प्रारम्भिक कामलाई अघि बढाउन डीपीआर तयार गर्ने सहमति भएको हो ।
संघीय शहरी विकास मन्त्रालयका मन्त्री मोहम्मद इश्तियाक राईको संयोजकत्वमा गठित उच्च स्तरीय समिति र एसियाली विकास बैंकका प्रतिनिधिबीच काठमाडौंमा भएको छलफलमा प्रदेश सरकारले प्रस्ताव गरेको शहरी करिडोर निर्माणको योजनाको डीपीआर तयार गरी काम अघि बढाउने सहमति भएको हो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले एक वर्ष्भित्र डीपीआरको काम सकिएर योजनाले गति लिने जानकारी दिनुभयो । संघीय सरकारले प्रदेश सरकार गठन भएसँगै आफ्नो महत्त्वकांक्षी योजनाको रुपमा शहरी करिडोर निर्माणलाई समावेश गरेको हो ।
शहरी करिडोर निर्माणको विस्तृत आयोजना प्रतिवेदन अन्तर्गत सर्वेक्षण गर्ने, लगत संकलन गर्ने, आवासीय क्षेत्रमा पर्ने घरको लगत राख्ने लगायतका कार्य अगाडि बढाइनेछ । वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सँगै विस्तृत इञ्जिनियरिङ, सर्वेक्षण तथा नमूनाका कार्य पनि अगाडि बढाइनेछ ।
वातावरणीय प्रभाव मूल्यांकन अन्तर्गत सामाजिक तथा आर्थिक क्षेत्र, भौतिक तथा सांस्कृतिक क्षेत्र, साइन क्षेत्र र जैवीक क्षेत्रबारे मूल्यांकन गरिन्छ । प्रदेश सरकारको योजना अनुसार विराटनगरको रानीदेखि धरान र काँकडभिट्टादेखि भेन्टाबारीसम्म शहरी करिडोरले जोडने प्रदेश सरकारको योजना छ ।