काठमाडाैं, २१ वैशाख ।
अर्थमन्त्री डा. युवराज खतिवडा एसियाली विकास वैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकमा सहभागी भई स्वदेश फर्किनु भएको छ । बैठकमा सहभागी हुने सिलसिलाममा अर्थमन्त्री डा. खतिवडाले विभिन्न मुलुक तथा वित्तिय संस्थाका विशिष्ट पदाधिकारीहरुसंग भेटवार्ता गरी नेपालको पछिल्लो आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै द्धिपक्षिय तथा बहुपक्षीय सहयोगको बारेमा वार्ता गर्नुभयो ।
बैठककै अवसरमा अर्थमन्त्री डा खतिवडा र एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नकाओको बीच फिजीको नादीमा द्विपक्षीय बैठक सम्पन्न भयो । सो बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान सरकार उच्च आर्थिक बृद्धिदरको बाटोमा अघि बढेको मुद्रास्फिति नियन्त्रणमा रहेको, पुननिर्माणमा उल्लेख्य प्रगति भइरहेको तथा एडिविको सहयोगकाक आयोजनाको प्रगति सन्तोषजनक रहेको तथा उच्च आर्थिक बृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्नु परेको बताउनु भयाे । उहाँले उच्च आर्थिक बृद्धिको पथमा गईरहेको आयात बढेको र व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुकको अर्थतन्त्र दिगो आर्थिक बृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको स्पष्ट पार्नुभयो ।
बैंकका अध्यक्षले मन्त्री खतिवडालाई राष्ट्र वैंकको गभर्नर हँुदा भेट गरेको प्रशंग उल्लेख गर्दै गभर्नरका हैसियतमा त्यसवेलामा ब्यक्त गरेका विचारहरु अहिले पनि स्मरणीय भएको बताउनुभयो । नेपालले राजनीतिक तहमा गर्नु पर्ने कार्यहरु पूुरा गरीसकेको र आर्थिक तथा सामाजिक विकासका परिसुचकहरुमा पनि राम्रो प्रगति गर्दै अगाडी बढिरहेको भन्दै अध्यक्ष नकाओले भुकम्पपछिको पुर्ननिर्माणको लागि भएको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा आफू सहभागी भएको स्मरण गराउनुभयो ।
अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायत संविधानमा व्यवस्था भएका मौलिकहकहरुको कार्यान्वयन गर्न सरकारले उल्लेख्य लगानी बढाउनु पर्ने भन्दै बैंकलाई थप सहयोगको लागि आग्रह गर्नु भयो । नेपाल दुई बर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थावाट स्तरोन्ति हुने सम्भावनाको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने भएकोले र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने आवश्यकता भएको अवगत गराउनुभयो ।
यसैगरी एसियाली विकास बैंकका उपाध्यक्ष तथा अन्य उच्च पदस्थ अधिकारीहरुसंग भएको छुट्टाछुट्टै द्विपक्षीय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको निजि क्षेत्रको विकासको लागि बैंकले खेलेको भूमिकाको लागि धन्यवाद दिनुभयो । उहाँले भेटमा दिर्घकालिन लगानीको लागि स्रोत जुटाउन लामो समयदेखि छलफलमा थाती रहेको स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने विषयमा आवश्यकता अनुसार अघि बढ्ने बताउनुभयो ।
बैठकको शिलशिलामा फिजीको नादीमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता समेत गर्नुभयो । सो बैठकलाई सम्बोधन गर्दै उहाँले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताउनुभयो ।
सो बैठकमा सार्क विकास कोषको कार्यप्रगति तथा आगामी दिनहरुमा कोषको सञ्चालनमा प्रभावकारीता ल्याउनुपर्ने विषयमा समेत उहाँले आफ्नो धारणा राख्नु भएको थियो । त्यसैगरी सार्क विकास कोषको बैठकमा पनि अर्थ मन्त्री सहभागी हुनुभएको थियो ।
दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै आएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणा भन्दाबढि बढाउन सकिने संभावना भए पनि पाँच प्रतिशतभन्दा माथि पुग्न नसकेको धारणा राख्नुभयो । दक्षिण एसियाको समग्र आर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले ईतिहासमै लगातार तेस्रो बर्षसम्ममा औषत ७ प्रतिशत आर्थिक बृद्धि हासिल गर्न सफल भएको भन्दै उहाँले लगातार उच्च आर्थिक बृद्धि हासिल गरिरहँदा ब्यापार घाटा र बाहय क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको धारणा राख्नुभयो । आगामी दिनमा उच्च आर्थिक बृद्धि र बाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पु¥याउने जानकारी समेत दिनु भयो ।
बैठकको सिलसिलामा युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्च पदस्थ अधिकारीहरुसंग भएको वेग्ला वेग्लै द्विपक्षीय वैठकहरुमा अर्थ मन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरुको बारेमा जानकारी गराउनु भयो ।
नेपालमा उच्च आर्थिक बृद्दिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधान प्रदत्त मौलिक हकहरुको कार्यान्वयन गर्न, भूकम्प पछिको पुनर्निर्माण खास गरी आवास र सार्वजनिक भवनहरुको पूनर्निर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरुलाई नेपालमा थप सहायता प्रदान गर्न आव्हान गर्नु भएको थियो ।
उहाँले नेपालमा लोकतान्त्रिक, स्थिर र विकासको स्पष्ट सोच भएको सरकार गठन भएकोले सहायताको पूर्ण सदुपयोग हुने विश्वाश दिलाउनु भयो । अर्थ मन्त्रीसंग भएका ती वैठकहरुमा नेपालको आर्थिक बृद्धि र नेपाल सरकारले शुरु गरेका सुधारका कार्यहरु प्रति उत्साहित हँुदै विकास साझेदारका प्रतिनिधिहरुले नेपाललाई थप सहायता प्रदान गर्नेप्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
उहाँले बैठक तथा द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका सहभागीहरुलाई जानकारी दिनुभएको थियो । मुलुक संघीयता कार्यान्वयनमा सफलतापूर्वक अघि बढिरहेको बताउँदै वित्तीय संघीयताको व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले १७ गते मंगलबार फिजी जानुभई आज २१ गते राती स्वदेश फर्किनु भएको हो ।