फागुन ३०, पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले मुलुकमा द्धन्द निम्त्याउन खोजेको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरी द्वन्द्व बढ्न सक्ने बताए ।
सरकारको उक्त निर्णय अलोकतान्त्रिक भएको उनको भनाई छ । ‘विप्लवका गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि,’ नेता केसीले भने, ‘राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरित छ ।’
जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि त्यसबाट चुकेको पनि नेता केसीले बताए ।
वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन गर्न पनि माग गरे ।