काठमाडौं, ३० फागुन ।
दिव्य लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा जीवन भट्टराई नियुक्त भएका छन् ।
प्रथमबार्षिक साधारण सभाले सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई(प्रतिनिधि – सेञ्चुरी कमर्सियल बैंक लि.), प्रकृतिराज तिमिल्सिना (प्रतिनिधि – कैलाश विकास बैंक लि.), महेश बहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ ।
साथै, नयाँ सञ्चालक समितिले जीवन भट्टराईलाई समितिको अध्यक्ष चयन गरेको हो ।
आज अध्यक्ष भट्टराईले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गर्नु भएको छ ।
अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी ११ करोड र चुक्तापूँजी७ करोड ७० लाख रहेको यस लघुवित्त वित्तीय संस्था लि.को सर्वसाधारण शेयरधनीलाई छुट्याईएको शेयर बाहेक हालको चुक्तापूँजीको आधारमा सेञ्चुरी कमर्सियल बैंक लि. को ३५.७१ प्रतिशत, कैलाश विकास बैंक लि. को १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९प्रतिशत शेयरमा लगानी रहेको छ ।
हाल यस लघुवित्तको १३ वटा शाखाकार्यालयहरु संचालनमा रहेका छन् भने यस आ.ब.को अन्त्य सम्ममा २२ वटा शाखाकार्यालयहरु हुने लक्ष्य संस्थाले लिएको छ । साथै, आगामी आ.ब.मा वित्तीय संस्थाको शेयर सर्वसाधारणमा जाने कार्यक्रम रहेको कम्पनीका सचिव पुरुषोत्तम प्रसाद घिमिरेले बताए ।
