फागुन ३०, काठमाण्डौँ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा)ले बिहिवार आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका यातायातको साधनहरु न्यून मात्रामा पनि चलेको छैनन् । बिहानैदेखि उद्योग, कलकारखाना शैक्षीक संस्थाहरु बन्द छन् ।
सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवन लगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेका हो ।बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन् ।
पुल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ ।काठमाडौंको विभिन्न नाका तथा थानकोट भएर बाहिरिने लामो दूरीको सवारीसाधन भने चलेका छैनन् ।यसैबीच, धादिङ, कैलालीलगायतका बिभिन्न स्थानमा बन्दको अवज्ञा गर्ने गाडि तथा ट्रकमाथि बन्दकर्ताले आगजनी गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै कैलालीमा यात्रुवहाक वसमाथि आगजनी गरिएको छ । पूर्वबाट पश्चिमतर्फ गैरहेको म १ ख ४४१ नम्बरको बसमा बडैपुरम भन्ने ठाउँमा आगजनी भएको प्रहरीले जनाएको छ ।
उक्त गाडि जन्ति बोकेर हिडेको भएको बताईएको थियो । तर नेपाल कम्युनिस्ट पार्टी कैलालीले जन्ति वोकेको वस नजलाएको स्पष्ट पारेको छ ।

विवाहको जन्ति छोडेर फर्किएको र नियमित रुटमा आफ्नो नम्बर लिएर सन्चालन गरिएको र बन्दमा नचलाउन आग्रह गर्दा पनि नमानेपछि जलाईएको नेकपा कैलालीका ईन्चार्ज बिवेक कुमालले जानकारी दिए।
उनले भने, हामीले सबै जाँच गर्दा नम्बर लिएर चलेको पाईएपछि कारवाही गरिएको हो, जन्ति बस होईन, बरू दुई दिन अघि नै जन्ति छोडेर आएको देखिएको छ ।
गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

बन्दको पुर्वसन्ध्यामै मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा एक ट्रकमाथि आगजनी भएको छ । अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
त्यस्तै रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराह नजिकै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बुटवल–भैरहवा सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको हो ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा औद्योगिक क्षेत्रनजिकै शंकास्पद वस्तु फेला परेको छ । निलो प्लाष्टिकमा बेरेको अवस्थामा शांकाष्पद वस्तु भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले जानकारी दिए ।
पोखराको दुई स्थानमा बिहिवार बिहान बम फेला परेको छ । पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको हो ।
शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको प्रहरीले जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।
बम भेटिएपछि अहिले उक्त स्थानमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

त्यसैगरी प्यूठानको स्वर्गद्धारी नगरपालीका कार्यालय अगाडी शकांस्पद बस्तु फेला परेको छ । स्वर्गद्धारी नगरपालीका ४ मा रहेको नगरपालीका कार्यालय अगाडी नै शकांस्पद बस्तु फेला परेको स्थानीयले जानकारि दिएका छन् । सानो क्यानमा प्वाल पारेर तार जोडिएको बस्तु नगरपालीका कार्यालय अगाडी फेला परेको थियो ।
उता गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले निस्कृय पारेको गोरखा प्रहरीले जनाएको छ । कास्की लेखनाथ नगरपालिकाको भण्डारढिकमा सकेट बम भेटिएको छ । उक्त बमलाइ सेनाको बम डिस्पोजल टोलीद्वारा डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

यस्तै,चितवनको कालिका नगरपालीकाको खोलेसिमल बजार र राप्ती नगरपालीकाको उपमेयरको घरछेउमा पन बम फेला परेको बताईएको छ ।
बन्दका क्रममा सार्वजनिक सावरीसाधन ठप्प रहेपनि सुरक्षाकर्मी, दूध, तरकारी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स भने चलेका छन् ।
