काठमाडौं, २७ फागुन ।
यही फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला अर्थात नारी दिवसमा मनाइरहेका बेला राजधानीबाट गिरफ्तार गरिएका ६ जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
सबैलाई महानगरीय प्रहरी काठमाडौं परिसर दरबारमार्ग वृत्तमा राखिएको छ । उनीहरुलाई सो दिन १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा काठमाडौंको शान्तिबाटिकाबाट र्याली निकाल्दै गर्दा गिरफ्तार गरिएको थियो । केहीलाई रयालीमा आउँदै गर्दा जमलस्थित सडकपेटीबाट उठाइएको थियो ।
हिरासतमा भक्तपुर सूर्यविनायकका नविन विष्ट, काठमाडौंका रामकुमार अधिकारी ‘सुरेश’, चितवनकी विमला भण्डारी, डडेल्धुराकी गौरा धामी ‘पूर्णिमा’, चितवनकै विमला भुजेल ‘उषा’ र काठमाडौंकै रक्मिणी पुडासैनी रहेका छन् । उनीहरुलाई हिजो आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालय (सीडीओ)बाट दरबार मार्ग वृत्तले म्याद थप गराई अनुसन्धान कार्य जारी राखेको डीएसपी विनोद घिमिरेले जानकारी दिएका छन् । सबैलाई सार्वजनिक स्थलमा शान्ति सुरक्षामा बाधा पुर्याई अभद्र व्यवहार गरी कसुर गरेको अभियोग लगाइएको छ ।
उनीहरु नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) निकट विभिन्न जनवर्गीय संगठनमा आवद्ध नेताहरु हुन् । ने.क.पा. र त्यसनिकट कोही कसैलाई सार्वजनिक स्थलमा कार्यक्रम गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्न ‘दिनू’ भन्ने ‘माथिको आदेश’ भएकोले उक्त कार्यक्रम गर्नेबारे अनुमति प्राप्त नगरिएको पाएपछि गिरफ्तार गरिएको सुरक्षा स्रोतले बतायो ।
‘सामाजिक दलाल सरकार’ले संयुक्त महिला संघर्ष समितिले आयोजना गरेको शान्तिपूर्ण औपचारिक कार्यक्रममा फासिष्ट शैलीमा नेताहरुलाई गिरफ्तार गरेको भन्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष सम्झनाले एक प्रेस विज्ञाप्ति जारी गर्दै भत्र्सना गरेकी छन् । गिरफ्तार सबैलाई बिनासर्त तत्काल रिहा गर्न समेत उनले सरकारसँग माग गरेकी छन् ।
‘संयुक्त राष्ट्रसंघले मान्यता दिएको विश्वभरका महिलाहरुले मनाउँदै आएको ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रममाथि हस्तक्षेप गरी दमन र गिरफ्तार गर्नु सामाजिक दलाल सरकारको हरुवा मानसिकताको उपज हो’ उपाध्यक्ष घर्तीद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ ।
सोही दिन ऋषि केट्टेल नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)लाई र्यालीसहित शान्तिबाटिकास्थित सडकमै औपचारिक कार्यक्रम आयोजनासहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन दिइएको थियो ।