काठमाडौं, २६ फागुन ।
गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक रहेने बताएका छन् ।
सरकार र उक्त गठबन्धनबीच भएको राजनीतिक सहमतिबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जानकारी माग गरेपछि गृहमन्त्री थापाले त्यसबारे जवाफ दिदै उक्त सहमतीप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्यमा परेको बताए ।
उनले भने, सहमतिका कतिपय बुँदामा सरकार चिप्लिएको छ भन्ने कोणबाट आएका विचार एउटा भ्रम हो, सहमति नेपालको सार्वभौम र अखण्डताको रक्षा गर्ने सम्बन्धमा ऐतिहासिक रहनेछ ।’
सहमतिले राज्यलाई कमजोर पार्छ भन्ने चिन्ता लिन आवश्यक नभएको उनको भनाई थियो । ’देशको कुनै भू–भाग अलग गर्ने कुरा संविधानले कल्पना गरेको छैन, अभिमत लिने भन्नेकुरासँग भ्रम भएको जस्तो छ, सुविचारपूर्वक उक्त शब्द राखिएको छ । यो नितान्त भ्रम र गलत बुझाइ हो।’ उनले भने ।
राष्ट्रको स्वाधिनता, अखण्डताको र स्वतन्त्रताको रक्षा गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै उनले मुलुकका सामु चुनौतीका रुपमा रहेको विषयलाई सम्बोधन गर्ने सन्दर्भमा भएको सहमतिलाई राष्ट्रघाती र संविधान विरोधीका रुपमा नहेर्न सुझाव दिए ।