बुटवल, २३ फागुन ।
प्रहरीले बिहीबार बिहान नवलपरासीको शिवगढी क्षेत्रमा सर्च अपरेसन गरेको छ । दर्जनौं प्रहरीसहितको टोलील बिहानै थालेको अपरेसनमा स्थानीयमाथि ने.क.पा.को गतिविधिबारे सोधपुछ र खातलासी गरिएको स्थानीयले बताएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीमा प्रहरीले अनावश्यक रुपमा दुःख दिएको र त्रास फैलाएको भन्दै सयौं स्थानीयले सडकमै निस्केर विरोध गरेका छन् । शिवगढी नेत्र विक्रम चन्द ‘विप्लव’ घर समेत भएको क्षेत्र हो । केहीदिन पूर्वको कोशी क्षेत्रमा अघोषित अपरसेन चलाएको प्रहरीले आज बिहानैदेखि कपिलवस्तुको विभिन्न क्षेत्रमा अपरेसन चलाएको हो ।
प्राप्त समाचार अनुसार हतियारसहितको टोलीले शिवगढीस्थित ने.क.पा.का महसचिव विप्लवको घरलाई गएरातिदेखि नै घेरा हालेको र बिहीबार बिहानमात्र पछाडि हटेको जनाएको छ । प्रहरी टोलीले बिहानताका स्थानीय दुर्गबहादुर रोकालाई नियन्त्रणमा लिइएको र उनी प्रहरीले चलाएको गोली लागेर घाइते अवस्थामा रहेको जनाइएको छ ।
स्थानीयद्वारा प्रतिकार
प्रहरीले रातैभर गाउँलाई नै सशस्त्र रुपमा घेरा हालेपछि स्थानीयले आज बिहानैबाट प्रतिकार शुरु गरेका छन् । त्यसपछि प्रहरी टोलीले पछि हटेको समाचार छ ।
प्रतिकारमा उत्रिएका स्थानीयबासीले प्रहरी टोलीलाई आफूहरुलाई अनावश्यक रुपमा दुःख नदिन र खानतलासीको नाममा त्रास नफैलाउन आग्रह गर्दा समेत अमानेपछि प्रतिकार गर्न बाध्य भएको स्थानीयहरुले बताएका छन् । उनीहरुले टोलीमाथि केहीबेर ढुंगा प्रहार समेत गरेका थिए ।
प्रतिकारबाट प्रहरी जवान अमर वली र पुतली चौधरीलाई सामान्य चोट लागेको प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । निकैबेर स्थानीय र टोलीबीच तनावको स्थिति समेत बनेको थियो ।
घटनाका बारेमा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले भने यसबारे केही बोल्न चाहेन । त्यसपछि घटना क्षेत्र हेर्ने सुन्दरीडाँडा ईलाका प्रहरी कार्यालयले भने ‘अहिले नै यसबारे केही बताउन नमिल्ने’ प्रतिक्रिया दियो ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले घटनाबारे आफूलाई केही जानकारी नआएको प्रतिक्रिया दिए ।