काठमाडौं, २३ फागुन ।
नेपाली कांग्रेस भित्रको बिबादले उग्र रुप लिदै गएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा पार्टी चलाउन खोजेको संस्थापन इतरपक्षको आरोप छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुले पार्टी नेतृत्व सहमतिमा अघि नबढे केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
नेताहरूले सहमतिबाट पार्टी सञ्चालनका लागि सभापतिसँग आग्रह गर्ने, त्यसो गर्दासमेत बहुमत र अल्पमतको बाटो लिए बैठक बहिष्कार गर्ने निर्णय गरेको केन्द्रीय सदस्य बलबहादुर केसीले बताए ।
चुनाव नलडी प्रतिनिधि बन्न पाउने कि नपाउने भन्नेमा सहमति नजुटेपछि फागुन १२ को केन्द्रीय कार्यसमितिको बैठकले विधान बहुमतबाट पारित गरेको थियो । त्यसप्रति इतरपक्षीय नेताहरूले असहमति जनाउँदै ‘फरक मत’ दर्ता गराएका थिए । उनीहरूले निर्णय प्रक्रियाप्रति गम्भीर आपत्ति जनाउँदै आएका छन् ।
महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले स्वतः प्रतिनिधि बन्ने प्रावधान विधानबाट हटाउने प्रतिबद्धता जनाएका थिए । उता ५६ जिल्ला सभापतिले समेत मंगलबार सामूहिक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिले निर्णय पुनर्विचार नगरे महाधिवेशनका लागि हस्ताक्षर अभियान गर्ने चेतावनी दिएका थिए । तिनमा दर्जनभन्दा बढी संस्थापनपक्षीय सभापतिसमेत छन् ।