काठमाडौं, २१ फागुन ।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको धरपकट तथा दमन बढाएको छ । हालसम्म दर्जनौ नेता कार्यकर्ता गिरफ्तार गरिसकेको छ ।
आज मात्रै काठमाडौंसहित देशभरबाट ९ जनालाई गिरफ्तार गरेको छ । काठमाण्डौंबाट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयोजक राजु कार्कीलाई गिरफ्तार गरेको छ भने दाङ र कपिलवस्तुबाट ३ (३ जना र रूपन्देहीबाट २ जनालाई पक्राउ गरेको छ । सुर्खेतमा एक जनालाई गिरफ्तार गरेको हो ।
दाङ र नवलपरासीमा सहिद–बेपत्ता परिवार अभिनन्दन कार्यक्रमबाटै प्रहरीले नेकपाका नेतालाई पक्राउ गरेको हो । दाङमा नेकपाका जिल्ला सचिवालय सदस्य प्रदिप वली, जनयुद्धको घाइते योद्धा ईश्वरी पान्डे, तुलसीपुर नगर सेक्रेटरी रूद्र ओलीलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
गिरफ्तारी विरूद्व नेकपा दाङले आन्दोलनको चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सविनले आज एक प्रेस विज्ञप्ती जारी गरि गर्दै अविलम्ब रिहाई गर्न माग गरेका छन् । रिहाई नगरे पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरि बन्द लगायतका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमा छ ।
त्यसबाट निस्कने सम्पूर्ण परिणामको जिम्मेवार गिरफ्तार गर्ने, धरपकड गर्ने निकाय नै हुने भन्दै सरकारको आतंकमा बिचलित नहुन सम्पुर्ण सहिद परिवारलाई अपिल समेत बिज्ञप्तीमार्फत गरिएको छ ।
नवलपरासीमा प्रहरीले नेकपाका जिल्ला सदस्य नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज गणेशबहादुर ढकाल, जिल्ला सल्लाहकार रुद्रबहादुर गुरुङ र सहिदका बुवा रुद्र पौडेललाई गिरफ्तार गरेको जिल्ला ईन्चार्ज सुमन ज्ञवालीले जानकारी दिए । रूपन्देहीबाट जिल्ला सदस्य योगेन्द्यर यादव र प्रदेशीलाई गिरफ्तार गरेको छ । गिरफ्तारीप्रति आपत्ति जनाउदै रूपन्देही जिल्ला ईन्चार्ज शरद वलीले तत्काल रिहाईको माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, गिरफ्तार गरिएका हाम्रा कमरेडहरूलाई तत्काल रिहाइको जोडदार माग गर्दैछौं। अन्यथा कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्वेवार स्वयम् दलाल सरकार हुने हुँने जानकारी गराउदछौं ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेलाई बाँकेबाट सुर्खेत जाने क्रममा पक्राउ गरेको छ । पछिल्लो पटक सरकार नेपाल कम्युनिष्ट पार्टी विरूद्व आक्रमक ढंगले आएको छ ।
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई ठिक पार्न प्रशासनिक कदम चाल्ने सार्वजनिक भाषण गरेको २४ घण्टाभित्र देशभर धरपकड बढेको हो ।