काठमाडौँ, १४ फागुन । आजबाट सहिद सप्ताह सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीले फागुन १४ देखि २१ गतेसम्म जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गर्दै छ ।०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु गरिएको महान जनयुद्ध वीरता, बलिदान, सहादत अनि अमरताको ऐतिहासिक घटनाको सम्झनामा सहिद सप्ताह मनाउने गर्दछ ।
जनयुद्ध सुरु भएको दुई हप्तामै अर्थात आजकै दिन प्रहरीले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । गोरखा पन्द्रङ्गका रम्तेल प्रहरीले गिरफ्तार गरेका शिक्षकलाई छुटाउन धर्नामा सहभागी भएका थिए ।
जनयुद्ध घोषणा भएपछि पहिलो पटक राज्यपक्षले रम्तेलको हत्या गरेको थियो ।जनयुद्ध सुरु भएको १३ औँ दिनमा नै गोरखाका एघार वर्षिय रम्तेललाई तत्कालिन राज्यसत्ताले कायतापूर्ण तरिकाले हत्या गरेको थियो ।
त्यसैले तत्कालिन नेकपा (माओवादी)ले त्यतिबेलै प्रथम सहिद घोषणा गरेको थियो । प्रथम सहिद रम्तेलसँगै जनयुद्धका सहिदहरुको सम्झनामा माओवादीहरुले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
माओवादी नेताहरुले सहिदको सपनालाई पूरा गर्ने बाटो छोडेको र सम्झना केवल औपचारिकतामा मात्रै सिमित राखेको भन्दै आलोचना भइरहेको छ ।
यता विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले देशभर बिभिन्न कार्यक्रम गरी जनयुद्वका प्रथम सहिद रम्तेलकाे सम्झना गर्दै छ । भने नेकपा क्रान्तिकारी माअाेवादीले पनि सहिद सप्ताह मनाउदैछ ।
गोरखा–जराङस्थित ब्रह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत कलिला विद्यार्थीहरूलाई तर्साएर–धम्क्याएर जनयुद्ध रोक्ने दुस्साहस गरियो । फागुन १४ गते घ्याम्पेसालबाट निस्केको एक प्रहरी जत्थाद्वारा सूर्यज्योति माविका प्रधानाध्यापक वीरवहादुर गुरुङलाई पोखाराटारको सुकेटारस्थित एक गैरसरकारी संस्थामा आगजनी गरेको आरोपमा विद्यालयभित्रै छोपियो ।
इमानदार र लोकप्रिय आफ्ना गुरुलाई स्कुलहाताभित्रैबाट अमानवीय र अन्यायपूर्ण गिरफ्तार गर्न खोजेपछि करिब ७ सय विद्यार्थीहरूले प्रहरीको कडा प्रतिकार, प्रतिरोध र प्रतिवाद गरे । प्रधानाध्यापक गुरुङलाई नछोडेपछि विद्यार्थीहरू प्रहरीकै पछिपछि नजिकै रहेको ब्रह्मचारिणी निमाविमा आइपुगे । जनदबाब र प्रतिरोधपछि आतङ्कित प्रहरीले जथाभावी गोली प्रहार गर्न थाल्यो ।
प्रहरीद्वारा भीडमा अन्धाधुन्दा गोली चलाउँदा ११ वर्षीय दिलबहादुर रम्तेल र स्थानीयवासी रामप्रसाद भट्ट गम्भीर घाइते हुनुभयो । घाइते दुवैजनालाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा तारलेडाँडा भन्ने स्थानमा दिलबहादुर रम्तेलको मृत्यु भएको थियो ।