काठमाडौं । निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५ सयबराबरको लगानी सिमेन्ट उद्योगमा मात्रै गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र १ हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।
उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्याँसको व्यवसाय गर्दै आएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् ।
विभागको विवरणअनुसार पछिल्ला दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिएका छन् । कुल पुँजी ४० करोड ८० लाख रुपैयाँबराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले ६ हजार मेट्रिक टन पीपीसी र ६ हजार मेट्रिक टन ओपीसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिनेछ । त्यस्तै, स्याङजाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराएका हुन् । उद्योगमा कुल पुँजी १ अर्ब ५० करोडबराबरको लगानी हुनेछ । सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ । उद्योगले १ लाख ५० हजार मेट्रिक टन ओपीसी, १ लाख ५९ हजार मेट्रिक टन पीपीसी र ८८ हजार ९८० मेट्रिक टन क्लिंकर उत्पादन गर्नेछ ।
कपिलवस्तुको शिवराज नपा–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराएका छन् । उद्योगमा ९ अर्ब ७८ करोड ५८ लाख ९५ हजारबराबरको लगानी गरिनेछ । उद्योगले ३९९ जनालाई रोजगारी दिनेछ । विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले ८ लाख ३८ हजार २ सय मेट्रिक टन ओपीसी र ३ लाख ३० हजार मेट्रिक टन पीपीसी सिमेन्ट उत्पादन गर्नेछ ।
त्यस्तै, हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले २ अर्ब ५७ करोड ८८ लाख २५ हजारबराबरको लगानी गर्नेछ । उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ । उद्योगबाट ६ लाख ६० हजार मेट्रिक टन ओपीसी र १३ हजार २ सय मेट्रिक टन क्लिंकर उत्पादन गर्नेछ । त्यस्तै, उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराएका छन् । झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले ५० करोड लगानी गर्ने भएको छ । कुल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले १ लाख ५० हजार मेट्रिक टन ओपीसी र १ लाख मेट्रिक टन पीपीसी सिमेन्ट उत्पादन गर्नेछ ।
त्यस्तै, ग्याँस व्यवसायी घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गरेको छन् । कुल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कुल पुँजी ४ अर्ब ८९ करोड १७ लाख ९२ हजार ५ सयबराबरको लगानी गर्ने तयारी गरेका छन् । उद्योगले ६ लाख २३ हजार ७ सय मेट्रिक टन ओपीसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । उद्योगमा २ खर्बको लगानी भएको र वार्षिक १ खर्ब ५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झन्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताए ।
संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन सुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी सुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सरकारी
स्वामित्वको हो ।
नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झन्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने १ करोड ३० लाख टन रहेको छ । विश्वमा सिमेन्टको कुल उत्पादन वार्षिक ४ अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कुल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ ।राजधानीबाट