काठमाडौं, फागुन १२ । महासमिति बैठक सकिएको दुई महिना बितिसक्दा पनि नेपाली कांग्रेसले विधान अनुमोदन गर्न सकेको छैन । पार्टीभित्रको आन्तरिक झगडा र महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि आफूअनुकूल विधान बनाउने नेताहरुको कसरतले विधान अनुमोदन हुन नसकेको हो ।
विधानका विषयमा सहमति जुटाउन नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । यसअघि विधान टुंगो लगाउन बिहीबार बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भउकाे थियाे ।
पार्टी कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा विधानका विषयमा छलफल हुने बताइएको छ । महासमिति बैठकले अनुमोदन गरेको विधान केन्द्रीय समितिले पारित गर्न नसक्दा कांग्रेसमा किचलो हुँदै आएको छ ।
कांग्रेसभित्र पार्टी विधानमा स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने कि नराख्ने विषयमा मुख्य विवाद छ । संस्थापन पक्ष पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई स्वतः महाधिवेशन र क्षेत्रिय प्रतिनिधि बन्न पाउने प्रावधान राख्ने पक्षमा छ भने संस्थापनइतर महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्न बुथबाटै निर्वाचित हुनुपर्ने प्रावधान राख्नुपर्ने अडानमा छ ।
तर, सहमहामन्त्री डा. प्रकाशशरण महत विधानलाई सर्वसम्मत् अनुमोदन गर्ने प्रयासका कारण ढिलाइ भएको जिकिर गर्छन् । उता, संस्थापनइतर पक्षका नेता नवीन्द्रराज जोशीले महासमितिले दिएको ‘म्यान्डेट’बाट संस्थापन पक्ष पछि हटेकाले विधान अनुमोदनमा ढिलाइ भइरहेको जिकिर गर्छन् ।
यस्तै बैठकमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका विषयमा समेत छलफल हुने बताइएको छ । नेविसंघ विघटन भएपछि महाधिवेशनका लागि तदर्थ समिति गठन गर्नुपर्ने भए पनि पार्टीभित्र ३२ वर्षे उमेर हदका विषयमा सहमति जुट्न सकेको छैन ।