जनताको जलविद्युत् कार्यक्रमले अग्रिम शेयर बिक्री गर्न पाउनेः यस्ता छन् नियम 

जनताको जलविद्युत् कार्यक्रमले अग्रिम शेयर बिक्री गर्न पाउनेः यस्ता छन् नियम 

  • आइतवार, फाल्गुन ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, ५ फागुन ।

सरकारले अगाडि बढाएको जनताको जलविद्युत् कार्यक्रमका लागि लगानीकर्ताले शुरुमै दश प्रतिशत रकम दाखिला गरी शेयर आवेदन माग गर्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ संशोधन गरी उक्त व्यवस्था गरेको हो । सरकारको कम्तीमा ५१ प्रतिशत शेयर स्वामित्व भएको जलविद्युत् कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कूल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरणका आधारमा शेयर रकमको कम्तीमा दश प्रतिशत रकम उठाउन पाउने व्यवस्था बोर्डले गरेको छ ।

यस्तै आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भइसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रमबमोजिम सर्वसाधारणबाट पूँजी सङ्कलन गरी जलविद्युत् आयोजना निर्माण गर्न शेयर बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ ।

शेयर आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र त्यस्तो शेयरधनीलाई कम्पनीले सरकारले निर्धारित गरेको वार्षिक प्रतिफल प्रदान गर्न सक्ने र त्यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा समेत मिलान गर्न सकिने व्यवस्था गरिएको छ । शेयरको रकम शत्प्रतिशत चुक्ता भएपश्चात् त्यस्तो शेयर धितोपत्रको दोस्रो बजारमा कारोवार हुन सक्ने व्यवस्थासमेत गरिएको बोर्डले जनाएको छ ।

शेयरको चुक्ता हुन बाँकी रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरीदकर्तालाई एक महीनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसरी सूचना जारी गर्दासमेत शेयर बिक्री नभए संस्थापक शेयरधनी वा नेपाल सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमको घोषणा गर्नुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न १९ आयोजनालाई सो कार्यक्रममा राखेको छ । मन्त्रालयले उच्च प्रतिफल दिने आयोजना छनोट गरी कार्यान्वयमा लयाउन लागेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ