काठमाडौं,माघ १३ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला कार्यशैलीको विरोधमा भ्रातृसंगठनलाई सडकमा उतार्ने तयारी गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकले भ्रातृसंगठनका विरोधका कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ ।
सरकारले संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि त्यसको विरोधमा उत्रिएको कांग्रेसले विधेयक पारित भएपछि सडकबाट पनि विरोध सुरु गर्न थालेको हो । आजको बैठकले भ्रातृसंगठनका राजधानी केन्द्रीत विरोधका कार्यक्रम तय गर्ने कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो ।
सरकारका पछिल्ला कामकारवाहीका विषयमा भने कांग्रेसले प्रदेशगत रुपमा विरोधका कार्यक्रम गरिरहेको छ । ५ वटा प्रदेशमा विरोधका कार्यक्रम गरिसकेको कांग्रेसले आज सुदुरपश्चिम प्रदेशको धनगढीमा र भोलि कर्णाली प्रदेशको सुर्खेतमा विरोधका कार्यक्रम गर्दैछ ।
सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच प्रतिनिधि सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नु, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन नगर्नु, प्रतिपक्षी विना नै संवैधानिक आयोगका प्रमुख आयुक्त सिफारिस गर्नु कांग्रेसको विरोधका कार्यक्रमको मूख्य एजेन्डा बनेको छ ।
यस्तै आजको बैठकमा पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पतालको विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ । गत बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन विषय उठानमात्र भएको थियो ।
बैठकमा नेविसंघको वर्तमान कार्यसमितिको समयावधी बढाउने वा विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भन्ने विषयमा छलफल हुने नेता प्रदीप पौडेलले जानकारी दिनुभयो । कार्यसमितिको थपिएको समयावधी पनि यही माघ २ गते सकिएपछि १० गतेसम्म पुन थपिएको थियो ।