८ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिपक्षलाई पेलेर भएपनि विधेयक पारित गर्ने सरकारको प्रपञ्चमा सभामुख सहभागी भएको आरोप लगाउदै सदन अबरूद्व गरेकेा छ ।
पूर्वप्रधानमन्त्रीद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल खारेज गर्न खोजेको भन्दै संसद अवरुद्ध गर्दै आएको कांग्रेसले मंगलबार पनि दुई पटक अबरूद्व गर्याे । कांग्रेसको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
दोस्रो बैठकमा कांग्रेसको अवरोधका बीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न समय दिएपछि केहीबेर तनावपूर्ण भयो । सत्तारुढ सांसदहरुले मन्त्रीलाई रोष्टममा पुर्याउन खोजे भने कांग्रेस सांसदहरुले रोकेका थिए ।
(चिकित्सा शिक्षा) विधेयक जबरजस्ती पारित गराउँछु भन्ने सरकारको प्रपञ्चमा सभामुख ‘पार्टीको कार्यकर्ता जस्तो भएर सहभागी भएको कांग्रेसको आरोप छ । ‘यो भन्दा पहिला पनि पटकपटक यस्ता घटना भएका छन् । तर, कहिल्यै पनि यति धेरै एउटा दलप्रतिको रुझान राखेर सभामुखले व्यवहार गरेको हामीलाई थाहा छैन’ बैठकपछि कांग्रेस सांसद गगन थापाले भने ।
सरकार शक्ति पृथकीकरणको सम्पूर्ण सिद्धान्तहरु कुल्चिएर अगाडि बढ्न चाहेको र सभामुख पनि त्यसमा समभागी भएको भन्दै उनले भने, आज सदनमा प्रतिपक्षसँग जुन व्यवहार भएको छ, यो एउटा डरलाग्दो परिदृश्यको संकेत हो । यसलाई हामीले सामान्य घटनाका रुपमा लिएको छैन । कांग्रेसले यसको प्रतिरोध सदनबाट पनि गर्छ, ससद बाहिरबाट पनि गर्छ ।’
कांग्रेस सांसद थापाले दुई अस्पतालबारे सरकारले लिएको निर्णय कांग्रेसको अस्तित्व अस्वीकारको प्रारम्भ मात्र भएको बताए ।