चितवन, ८ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले चितवन जिल्लाको माडी नगरपालिकासँग जोडिएको भारतीय सीमाक्षेत्रमा काँडेतार लगाएको छ ।
चितवनको माडी नगरपालिका वडा नम्बर ५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा ने.क.पा. निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले काँडेतार लगाएको अध्यक्ष चिरञ्जीवि ढकालले बताए।
अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा लगाईएको उक्त काँडेबार करिब ३० मिटर लामो रहेको क्रान्तिकारीले जनाएको छ।
भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको बताउँदै अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान !’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको अखिल क्रान्तिकारीले जनाएको छ।
भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभई कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दासमेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको ढकालले बताए। अब आफुँहरुले चितवनमा मात्रै नभई भारतले मिचेका हरेक क्षेत्रमा काँडेबार लगाउने अध्यक्ष ढकालले बताएका छन्।
भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभएर कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दासमेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको छ ।
त्यसैगरी नेपालको भूभाग कालापानीमा दसकौँदेखि भारतीय सेनाले क्याम्प खडा गरेको छ । सन् २०१५ (२०७२ साल) मा मात्र नेपालको भूमि लिपुलेक भारतले आफ्नो भनी चीनसँग सम्झौता गरेको छ । यसका बारेमा चौतर्फी विरोध भएपछि चीन सम्झौताका बारेमा पुनर्विचार गर्न तयार हुँदा पनि नेपाल सरकारले कुनै चासो देखाएको छैन ।
अखिल क्रान्तिकारीद्वारा गरिएको काँडेतार लगाउने कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण अधिकारी, अखिल क्रान्तिकारीका अध्यक्ष ढकाललगायत सबै पदाधिकारीको उपस्थिति रहेको थियो ।
केही वर्षअघि १९५० को सन्धिलगायत नेपाल–भारतको सीमा समस्या समाधान गर्ने भनेर भेषबहादुर थापाको नेतृत्वमा गठित प्राज्ञिक समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म भारतीय पक्षले बुझ्न आनाकानी गरिराखेको छ ।