बुटवल माघ ३ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बुटवलमा शक्ति प्रदर्शन सहित खबरदारी सभाको आयोजना गरेको छ । प्रदेश ५ को राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन सहित सभा गर्न लागेको हो ।
प्रदेश सरकार गठन भएको १ वर्ष पुग्न लाग्दा पनि स्थायी राजधानी तोक्न ढिलाई गरेको भन्दै कंग्रेसले अन्यत्र सार्ने षड्यन्त्र भएको आरोप लगाएको छ । शेरबहादुर देउवा नेतृत्वकोे सरकारले बुटवललाई प्रदेश ५ को सहित सातै प्रदेशको अस्थायी राजधानी तोकेको थियो ।
सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको कांग्रेसको आशंका छ । वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा भएको अनियमिमता र भण्डाफोर, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन पनि जनप्रदर्शन र सभाको आयोजना गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ ।
ट्राफिक चोकमा हुने आजको सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केहि केन्द्रीय सदस्यहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । त्यस अघि चौराहबाट र्याली निस्कने कंग्रेस रुपन्देही सचिव रामकृष्ण खांणले जानकारी दिनुभयो ।
प्रदेश राजधानीका विषयमा निर्णय गर्ने थलो प्रदेश सभा भएकाले संघीय सांसद सडकमा आएर बोल्नु गलत भएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताउंदै आउनु भएको छ ।