काठमाडौं, माघ ३ ।
सरकारबाट प्रस्तावित दुई जना राजदूतको आज सुनुवाइ हुँदैछ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो ।
सुनुवाइका लागि अहिले संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइएको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।
तर पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाइ गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई आजको बैठकमा बोलाइएको समितिका उपसचिव केशव अर्यालले जानकारी दिनुभयो ।
आजको बैठकमा अधिकारी र ढकालले आफ्नो कार्ययोजना पेश गर्ने र त्यसमा छलफल हुने कार्यक्रम छ । उपसचिव अर्यालका अनुसार प्रस्तावित राजदूतले आफ्नो कार्ययोजना प्रस्तुत गरे पश्चात जिज्ञासा राख्ने र थप पेष्ट हुने एवं सुझाव दिने कार्यक्रम हुने छ ।