२७ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले उज्वल थापाले वैकल्पिक पार्टी निर्माण अभियानलाई धोका दिएको आरोप लगाउदैँ पार्टीमा आएको फुटले आश्चर्यमा परेको जनाएकाे छ ।
विवेकशील साझाका संयोजक थापासहित १६ जना ‘विवेवशील नेपाली पार्टी’ दर्ताका लाग निर्वाचन अायाेग पुगेपछि विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले कार्यशैली र कार्यप्रणालीलाई लिएर पार्टीमा मतभिन्नता रहेको भएपनि पार्टीमा आएको फुटले आफूहरु आश्चर्यमा परेको बताए ।
आचार्यले ३० गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने अपेक्षा गरेपनि त्यसअघि नै पार्टी बिभाजित हुँदा अाश्चर्यमा परेकाे बताए ।‘तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
थापासहितका नेताहरुको कदमले वैकल्पिक पार्टी निर्माणको उद्देश्यलाई घात र पार्टी निर्माणमा क्रियाशिल युवा र मतदाताप्रति अन्याय भएको विवेकशील साझाको ठहर छ । विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्न आफूहरु दृढ संकल्पिक रहेको भन्दै प्रवक्ता आचार्यले आफ्नो विज्ञप्तिमा नयाँ दल दर्ताका लागि निवेदन दिएका नेताहरुलाई शुभकामना समेत दिएका छन् ।
उता पार्टि फुटेसँगै उज्वल थापा समुहमा नै रहेकी नेतृ रञ्जु दर्शनाले तत्कालिन साझा पार्टीका नेताहरुको बुझाइ र आफूहरुको बुझाइ अलग भएपछि एउटै पार्टीमा बस्न नसकिएको प्रतिक्रिया दिइन् । उनले पार्टीमा व्यक्ति हाबी हुन थालेपछि अलग भएको जनाइन् ।