फिक्कल गाँउपालिकामा फिक्कल महोत्सव २०७५ हुने भएको छ । बुधवार गाँउपालिकाको खाङसाङमा गाँउपालिकाले पत्रकार सम्मेलन गरि माघ २ गतेदेखि ७ गतेसम्म महोत्सव हुने जानकारी गराएको हो ।
सम्मेलनमा बोल्दै गाँउपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले स्थानीय पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताइन । सिन्धुली जिल्लामा पनि फिक्कल भन्ने स्थान छ भन्ने अझै पनि मानिसहरुलाई थाहा नभएको भन्दै उनले महोत्सवले प्रचारप्रसारमा मद्धत पुग्ने अपेक्षा गरिएको बताइन । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको फिक्कलडाँडा तथा फिक्कल गाँउपालिकालाई नै पर्यटकीयस्थलकोरुपमा स्थापित गराई आर्थिक र समाजिक समृद्धि हासिल गर्न गाँउपालिका लागि परेको उनको भनाई रहेको थियो ।
६ दिनसम्म चल्ने महोत्सवमा स्थानीय कच्चा पर्दाथबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी तथा विक्री, गाँउपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोगितात्मक प्रर्दशनी, फलफुल तथा तरकारीबालीमा गाँउपालिका क्षेत्रमा विशिष्ठता हासिल गरेको किवी तथा आलु बजारको व्यवस्था, कृषिजन्य उत्पादनको प्रर्दशनी, प्याराग्लाईडिङ र र्याफ्टिङ मुख्य आकर्षण हुने छ ।
महोत्सव अवधिभरमा ५२ लाख रुपैयाँ खर्च अनुमान गरेको गाँउपालिकाले जनाएको छ । प्रचार प्रसार, स्टल निर्माण, व्यापार मेला प्रर्वद्धन, प्रशासनिक खर्च, साँस्कृतिक कार्यक्रम, सम्मेलन खर्च र विविध शिर्षकमा ५२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ५२ लाख रुपैयाँ नै आम्दानी हुने आँकलन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । नाफा कमाउनु गाँउपालिकाको उद्देश्य होइन, उपाध्यक्ष सुनुवारले भनिन्, “महोत्सवमा खर्च र नाफा उहि अनुपातमा हुने अनुमान गरेका छौँ ।”
गाँउपालिकाको धार्मिक एंव ऐतिहासिक पर्यटकीय क्षेत्रको महत्वलाई महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जानकारी गराई पर्यटन प्रर्वद्धन गर्नु, उद्योमीहरुको उत्पादन तथा कृषि र पशु क्षेत्रका उत्पादनहरुको बजार व्यवस्थापन गर्दै ठुला उद्योग सञ्चालनका लागि लगानीकर्ताहरु आकर्षित गर्नु र स्थानीय परम्परागत शीप कला र संस्कृति तथा लोक सँस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताइन ।
महोत्सव अवलोकनका लागि आउनेहरुलाई फिक्कल गाँउपालिका भित्र, जिल्ला र अन्य जिल्लालगायतमा उत्पादन प्रचार, प्रसार, विक्री एंव प्रर्वद्धन गर्न साँझा, औपचारिक एंव अल्पकालिन बजार उपलब्ध गराउने, गाँउपालिकाका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुट्टी, ऐतिहासिक तथा धार्मिक धरोहरको प्रचार गर्दै फिकल डाडाको दृश्यवलोकन गराइने छ ।
माघ २ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने महोत्सव गाँउपालिकाको सदरमुकाम खाङसाङ स्थित मध्यपहाडी लोकमार्गभन्दा उत्तर किनारमा रहेको खुल्ला चौरमा लाग्ने छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक गरि १ लाख पर्यटक गाँउपालिकामा भित्र्याउने लक्ष्य लिइएको छ । साथै गाँउपालिकाले महोत्सवको अवलोकन गरि सफल बनाउन सम्पुर्ण जिल्लाबासीहरुलाई आग्रहसमेत गरेको छ ।