१२ पुस, काठमाडौं ।
सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । यसअघिको काग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका उनीहरुलाई फिर्ता बोलाएको हो ।
बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल , स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको छ ।
यस्तै सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो ।
काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ ।
त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिनुभयो ।