वार्ताको हल्ला केपी–प्रचण्डले फालेको षडयन्त्रको कार्डः सुदर्शन

वार्ताको हल्ला केपी–प्रचण्डले फालेको षडयन्त्रको कार्डः सुदर्शन

  • बुधबार, पुस ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडाै‌, ११ पुस ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले सरकारले वार्ताको कार्ड फ्याँकेर षडयन्त्रको जालो फिजाएको बताएका छन् । भ्रममा पारेर फसाउनका लागि ओली–प्रचण्डले वार्ताको कार्ड अगाडि सारेको भन्दै त्यसलाई नमान्ने पार्टीको नीति भएको नेता सुदर्शनको भनाई थियो ।

१२६औं माओ दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीको काठमाडौं उपत्यका विशेष ब्यूरोको आयोजनामा बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित ‘नेपाली क्रान्तिको कार्यदिशा र माओवादको महत्व’ विषयक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेता सुदर्शनले ‘दलाल संसदीय व्यवस्था’को केपी–प्रचण्डको सरकारसँग वार्ता बिनाउद्देश्यको हुने भएकोले आफूहरुले स्वीकार गर्न नसकेको बताए ।

देशको स्वाधीनता, राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक क्रान्ति गरिरहेका क्रान्तिकारी शक्तिलाई भ्रम दिएर फसाउन सकिन्छ कि भन्ने उद्देश्यबाट सरकारबाट वार्ता हल्ला गरिएको धारणा राखेका छन् । वार्ताबारे सरकारनै स्पष्ट नरहेको भन्दै वार्ताको भ्रम धेरै दिन नछर्न सरकारलाई चेतावनी समेत उनले दिए ।

वर्तमान राज्यव्यवस्थालाई ‘दलाल संसदीय व्यवस्था’को संज्ञा दिई त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यक्रम चलाइरहेको नेकपाले वार्ता गर्नेबारे पनि पार्टीको धारणा कार्यक्रममार्फत राख्दै पार्टीको मध्यकेन्द्रीय कमाण्ड ईन्चार्ज समेत रहेका नेता सुदर्शनले नेकपाले सत्ता साझेदारी गर्न खोजेपछि वार्ताको कुरा बढाएको भन्ने सरकारको तर्कप्रति पार्टीको तर्फबाट आपत्ति जनाए । आफूहरु वार्ताविरोधी नभएको र शान्ति प्रक्रियापछिदेखि ‘दलाल सत्ता’सँग जनताको सत्ता स्थापनाबारे निरन्तर वार्ता र छलफलमै रहेको जिकिर समेत उनले गरे ।

‘वार्ताले जनयुद्धमा बलिदान गरेका १७ हजार सहिदको अवस्था के हुने ? जनताले कब्जा गरेको देशको ८० प्रतिशत भूभागबारे के गर्ने ? हजारौं संख्याका जनमुक्ति सेनाको स्थिति के हुन्छ ? जनअदालत र जनसत्ता गठनको मूल्य र मान्यता स्वीकार्नेबारे के हो धारणा ? बृहत शान्ति सम्झौता उल्लंघन गर्ने संसदवादीको विषयलाई हल गर्ने तरिका के हुने ?’ सुदर्शनले सरकारसँग प्रश्न गरे ।

जनयुद्धले देशबाट सामन्ती राजतन्त्रलाई गद्दीबाट लखेटेको तर्क राख्दै संसदवादीहरुको गठजोडबाट घोषित कथित गणतन्त्रले जनतालाई अधिकारीविहीन बनएकोले नेकपाले क्रान्तिलाई निरन्तरता दिन एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा लागू गरेको समेत नेता सुदर्शनले स्पष्ट पारे । नेकपाका नेता कार्यकर्तालाई झुठा मुद्दामा फसाएर जेल हाल्ने र खुला राजनीतिक कार्यक्रम समेत गर्न नदिई गरिएको सरकारी वार्ताको प्रसंग बेकार रहेको उनको भनाई थियो ।

चिनीयाँ जनवादी क्रान्तिका नायक माओत्सेतुङले आफ्नै देशको मौलिकतामा क्रान्ति सम्पन्न गरेर विश्व सर्वहारा क्रान्तिका नायक बन्न सफल भएको विचार उनले राखे । माक्र्सवाद–लेनिनवाद र माओवादको विकास हुने उनको धारणा छ । ‘जनयुद्धका बेला माक्र्सवादको विकास हुन्छ भन्ने प्रचण्ड आज मालेमावाद नै छाडेर बुर्जुवा वर्गभन्दा पनि धेरै टाढा पुगेका छन्’ उनले भने ‘प्रचण्ड पहिलो र बाबुराम भट्टराई दोस्रो नम्बरका दलाल हुन् ।’

जनयुद्धका कमाण्डरहरु जनार्दन शर्मा, वर्षमान पुन, पासाङहरु साँस्कृतिक विचलनपछि बुर्जुवा वर्गभन्दा तल झरेर नेपाली क्रान्तिलाई निस्तेज पार्ने योजनामा लागेको उनको भनाई थियो । मुलुकमा क्रान्ति चलिरहेकोले त्यसमा गोलबन्द हुन कम्युनिस्टहरुसँग अपिल समेत उनले कार्यक्रमार्फत गरे ।

कार्यक्रममा प्रा.डा सुरेन्द्र केसीले प्रचण्ड–बाबुरामहरुले जनयुद्धमा बलिदान गरेका नागरिकको हकमा अन्याय गरेर गम्भीर अपराध गरेको तर्क राखे । माओको विचारलाई दुवैजनाले नगदसँग साटेर निजी स्वार्थमा प्रयोग गरेको भन्दै प्राडा केसीले ‘हुँदाहुँदा युवाहरुलाई सामान्य रोजगारका लागि समेत विदेशीलाई बेच्ने काम गरिरहेका छन् ।’

विश्लेषक रमेश शर्माले माओले जनजनवादी क्रान्ति सम्पन्न भएसँगै सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरेर नेताहरुलाई बुर्जुवा वर्गसँगको हिमचिमबाट बचाएर प्रतिक्रान्ति हुनबाट जोगाएका धारणा राखे । जनयुद्धको उद्देश्यलाई प्रचण्डहरुले छाडेकै कारण मुलुकमा दलालहरुको सत्ता खडा भएको उनको धारणा छ ।

वाम नेता लोकनारायण सुवेदीले मुलुकमा क्रान्तिको आवश्यक भएको औल्याउँदै शत्रु पहिचान गरेर त्यसविरुद्ध लड्न कम्युनिस्टहरु एकजुट हुनुपर्ने धारणा राखे । प्राध्याक मोहन खतिवडाले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा र कार्यक्रमले निराश जनतामा उत्साह जगाएको विचार राखे ।

कार्यक्रममा स्वागत भाषण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हितमानले गरेका थिए भने कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य उत्तमले गरेका थिए । कार्यक्रम संचालन केन्द्रीय सदस्य आजादले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ