बुटवल, ९ पुस ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले अहिलेको सत्ता कम्युनिष्टको सत्ता नभएको बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले कम्युनिष्ट आन्दोलन र पार्टीलाई सिद्धाउनको लागी विदेशी प्रतिक्रियावादीले योजनावद्ध रुपमा यो सरकार बनाएर जनतालाई कम्युनिष्ट प्रती भ्रम सिर्जना गर्न खोजेको बताउनु भयो ।
अहिलेको ठुलो पार्टी महासचिव विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मात्रै रहेको भन्दै उहाँले अन्य पार्टी जनताबिनाको पार्टी भएको जिकिर समेत गर्नुभयो ।
उहाँले बाहिर भ्रम फिजाईएजस्तो आफ्नो पार्टीले कुनै जनयुद्ध वा शसस्त्र क्रान्तिको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । तर राज्यपक्षले अनावश्यक मुद्दा लगाउने दुख दिने र बन्दुकको बलमा आफ्ना आन्दोलनहरुलाई निस्तेज पार्न खोजे आफूहरु चुप नलाग्ने पनि चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘राजनीति रुपमा एकिकृत जनक्रान्तिमार्फत देशको व्यवस्था परिवर्तन गरेर जनताको सत्ता स्थापना गर्नको लागि बैज्ञानिक समाजवादको विकल्पसहित संघर्षमा छौं, राज्यले आतंककारीजस्तै व्यवहार गर्छ, अन्य अपराधिक समुहलाई जस्तै व्यवहार गर्छ भने राज्यसँग लड्न तयार छौं ।’
देश र जनताको भविष्यको लागि एकिकृत जनक्रान्तिको माध्यमबाट संघर्ष गर्दै जनताको सत्ता बैज्ञानिक समाजवाद ल्याउनको लािग आफूहरु ज्यानलाई हत्केलामा राखेको भन्दै उहाँले कुनै पनि तत्वले कमजोर बनाउन नसक्ने र आफूहरु निश्चित विजय हुनेमा दृढ रहेको बताउनुभयो ।
प्रकाण्डले भन्नुभयो, ‘हामिले विगतका कमजोरीहरुबाट धेरै पाठ सिकेका छौं, बदलिदो विश्वपरिवेश र नेपाली मौलिकतामा आधारीत रहेर बैज्ञानिक ढंगबाट नयाँ क्रान्तिको स्वरुप तयार गरेका छौं, अब नेपालमा क्रान्ति कसैले रोकेर रोकिनेवाला छैन ।’
प्रवक्ता प्रकाण्डले सरकारले वार्ता टोली गठन गरेपनि त्यसको कुनै अर्थ नभएको बताउनुभयो । सरकारले ६२÷६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियाबाट छुटेका समूहसँग वार्ता गर्ने भनेर भनेकाले त्यो समूहमा नेकपा नपर्ने उहाँको जिकिर छ।
विगतमा संविधानसभा र गणतन्त्रका लागि लडेकाहरुलाई आंतकारी भन्नेहरु नै प्रतिगमनकारी भएको भन्दै प्रवक्ता प्रकाण्डले आफूसहित पार्टीका नेता कार्यकर्ता पक्राउको प्रसंगमा सरकारले पुष्टि गर्न नसकेर आफ्नै निर्णयमा असफल भएको तर्क गर्नुभयो ।
‘सरकारले आफूले गरेको कामको जिम्मा पनि लिन सक्दैन, यो भन्दा लाजमर्दो बिषय के हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले नेकपा जनयुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै भन्नुभयो, ‘हामी जनयुद्धको पक्षमा छैनौ, तर सरकारले बन्दुक देखाउछ भने त्यसका विरुद्ध हामी उत्रन्छौ,’। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही ईन्चार्ज संगम पुन, नवलपरासी ईन्चार्ज शरद ओली, रुपन्देही सेक्रेटरी अमर आरसी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।