काठमाडौं, पुस ४ ।
विधानमा सहमति जुटेसँगै काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठक सहज बनेको छ । विधानमाथि सहमतिको प्रयासमा शीर्ष नेताहरु कोठे छलफलमा जुटेपछि गत शनिवारबाट सुरु महासमिति वैठक प्रभावित बन्दै आएको थियो ।
राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल सुरु भएपनि महासमिति सदस्यहरुले विधान मस्यौदा माग गरेपछि बैठक असहज बनेको थियो । मञ्चमा उपस्थित नेताहरुमाथि समेत गुटगत व्यवहार सुरु भएपछि विधानमाथि सहमतिका लागि नेताहरु गम्भीर बनेका थिए ।
विधानमाथि सहमति जुट्न नसकेपछि मंसिर २८ देखि पुष ३ गतेसम्मका लागि बोलाईएको महासमिति बैठक एक दिन ढिला सुरु भएर अझै सकिएको छैन । सिंहदरवार अगाडिको पार्टी प्यालेस आजसम्मका लागि मात्र बुक भएकाले महासमितिको बांकी छलफल तथा बन्दसत्र भोलीबाट ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा हुनेछ ।
लगातारको छलफल पछि शीर्ष नेताहरुबीच पदाधिकारीको संख्या र चयन प्रक्रिया तथा केन्द्रीय कार्यसमितिको संख्यामा सहमति जुटेको छ । प्रवक्ता विश्वप्रकाश शर्माकाअनुसार आज मध्यान्न बस्ने केन्द्रीय समिति बैठकले विधानमा जुटेको सहमतिलाई औपचारिकता दिनेछ ।
सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री र कोषाध्यक्ष गरी ८ पदाधिकारी राख्न नेताहरु सहमत भएका हुन् । कोषाध्यक्ष बाहेक सवै पदाधिकारी महाधिवेशनबाट निर्वा्चित भएर आउने सहमति जुटेको छ ।
यसअघि कांग्रेसमा ६ जना पदाधिकारी थिए जसमा उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिबाट मनोनित हुने व्यवस्था थियो । प्रवक्ता शर्माले केन्द्रीय समितिले पास गर्ने विधान भोली बस्ने महासमिति बैठकमा मात्र प्रस्तुत हुने बताउनुभयो ।
महासमिति बैठकको बन्दसत्रमा प्रस्तुत भएका अन्य चार वटा प्रतिवेदनमाथि छलफल जारी रहेको शर्माले जानकारी दिनुभयो ।