डडेल्धुरा, १ पुस ।
नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराको आयोजनामा आज विशाल जनसभा सम्पन्न भएको छ । जनसभा आलिताल गाउँपालिकाको गोदाम बजारमा सम्पन्न भएको हो । जनसभाका प्रमुख अतिथि नेकपाका नेता एवं पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन रहेका थिए ।
जनसभालाई पार्टीका नेता पोलिट ब्युरो सदस्य ओम प्रकाश पुनले सभालाई संबोधन गर्दै नेता पुनले केपी ओली प्रधानमन्त्रीको रुपमा नभई एउटा रंगकर्मीको भूमिकामा प्रस्तुत भइरहेको बताएका छन् । देशका वौद्धिक र श्रम जनशक्ति देशबाहिर पलायन गराएर देश समृद्ध नहुने र नेपाली सुखी हुन नसक्ने बताए । ‘सरकारको समृद्ध नेपाल, सुखी नेपाली’ जनता भुल्याउने नाटकमञ्चन बाहेक अन्य केही नभएको धारणा जनसभा नेता पुनले राखे । ‘केपी–प्रचण्डले भन्ने गरेका कथित समाजवाद दरिद्रता र अभावको होइन, यो त दलाल पुँजिवाद हो । यसबाट जनताको जीवन बदल्ने कुरा वाहियात हो’ नेता पुनले भने ।
सरकार दलाल पूँजीवादीको इसारामा बनेको बताउँदै यसले देश र जनतालाई बर्बादीको दिशा लगेको बताए । ‘सबै किसिमका बर्बादीबाट जोगाएर जनताको जीवनमा लागू हुने सत्ता निर्माण गर्ने उद्देश्यले पार्टी महासचिव कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको नयाँ बाटोमा अघि बढेका हौं, त्यसमार्फत देशमा वैज्ञानिक समाजवाद ल्याउने कुरामा शंका गर्नु आवश्यक छैन’ पुनले भने ।
जनसभामा ट्रेडयुनियन महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लोकबहादुर पल्लिमगर, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य ममता सुर्खेती लगायतले सम्बोधन गर्दै वर्तमान सरकार जनताको नभएको धारणा राख्दै यसलाई बेलैमा विस्थापित गर्न नसके राष्ट्रियता र जनजीविका झनै खस्कँदै जाने ठोकुवा गरे ।
सभामा पार्टीका डोटि जिल्ला इन्चार्ज सिखर, महाकाली ब्युरो कार्यालय सचिव संघर्ष, सेती ब्युरो न्याय बिभाग प्रमुख अमर, जनप्रतिनिधि सभा सेती महाकालीको प्रमुख हरिलाल थापामगर, सामना परिवारका संयोजक सरल माझी, दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य बिरु तिरुवा, अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रीय सदस्य सर्मिला थापालगायत नेताहरुको उपस्थिति रहेको थियो ।
सहिद परिवार, शिक्षक प्राध्यापक, बिद्यार्थी, बुद्धिजीवीले सशक्त उपस्थिति जनाए । जनसभामा सहिद परिवारलाई सम्मान पनि गरिएको थियोे । सामना साँस्कृतिक परिवारको केन्द्रीय टिमले साँस्कृतिक प्रस्तुति दिएको थियो । जनसभा जिल्ला पार्टीका सचिव टीका रानामगरको अध्यक्षता गरेका थिए भने जिल्ला इन्चार्ज अमर बुढा ‘अविनाश’ले स्वागत मन्तव्यबाट राखेका थिए । सामनाका कलाकार आरोह नेपालीको जनसभा सञ्चालन गरेका थिए । जनसभामा सहभागी जनाउन गाउँगाउँबाट जनसागर उर्लिएको थियो ।
नेकपा देशव्यापी जनसभा र संगठन विस्तार तथा सुदृढिकरण अभियानमा होमिएको अवस्था छ । जनसभालाई प्रहरीबाट हस्तक्षेपपछि रोक्ने प्रयास पनि जारी छ । हिजो शनिबार रोल्पाको माडीचौंरमा नेकपा रोल्पाले आयोजना गरेको विशाल जनसभालाई कार्यक्रमको बिच समयमा आएर प्रहरीले बिथोल्ने प्रयास गरेको नेकपा रोल्पाले जनाएको छ । हस्तक्षेपको नेकपाले विरोध गरेको छ । हस्तक्षेपले जनताको परिवर्तनको अभियान नरोकिने पनि उसले जनाएको छ ।




