काठमाडौं, १ पुस ।
सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले पार्टीको लगानीमा टेलिभिजन संचालन गर्नुपर्ने बताएका छन् । हिजोबाट राजधानीमा शुरु भएको नेकपाको स्थायी कमिटीको बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनप्रति असन्तुष्ट रहेका नेता गौतमले फरक मतको रुपमा पेश गरेका छुट्टै प्रतिवेदनमा सो कुरा उल्लेख गरेका हुन् ।
उनले प्रतिवेदनमा पार्टीको लगानीमा टेलिभिजन, रेडियो खोल्नेदेखि १२ कक्षासम्मको शिक्षालाई निःशुल्क गर्ने उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले अध्यक्ष ओली र प्रचण्डको कडा आलोचना गरेका छन् । नेकपाको ‘जन्म’पछि पार्टी संगठनमा निराश छाएको र दुईतिहाईको सरकारले प्रस्तुत गरेको बजेट तथा नीति–कार्यक्रमपछि जनतामा नैरास्यता बाहेक केही आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
त्यससँगै पार्टीले आगामी दिनमा गर्नुपर्ने विचारधरात्मक कार्यको रुपमा ‘अब के गर्ने’ शीर्षकमा थुप्रै बुँदामा कार्यक्रम सुझाइएको छ । त्यसमध्ये पार्टीको लगानीमा टेलिभिजन, एफएम रेडियो चलाउनुपर्ने सुझाव छ । सोहीअन्तर्गत ‘ख’ को ७ नम्बर बुँदामा ‘पार्टीको लगानीमा निष्पक्ष तथा विश्लेषणात्मक समाचारसहितका सामाग्रीहरु प्रशारण गर्ने गरी एफएम रेडियो तथा टेलिभिजन संचालनको व्यवस्था गर्ने’ भनिएको छ ।
त्यस्तै सामाजिक सुरक्षासम्बन्धी उपशिर्षक ‘च’को चौथो बुँदामा ‘१२ कक्षासम्म सबै नेपालीलाई सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने’ कार्यक्रम तथा नीति बनाउनुपर्ने उल्लेख छ । साथै ‘सबै विद्यालयहरुमा स्वच्छ पिउने पानी, महिला, पुरुष र अपांगता भएकाहरुका लागि छुट्टाछुट्टै शौचालय, महिला विद्यार्थीहरुका लागि निःशुल्क सेफ्टी प्याड र बन्द कक्षमा र खुला किसिमले खेलिने खेलको समुचित व्यवस्था गर्नुका साथै पोषणयुक्त खाजाको व्यवस्था गर्ने, टाढाबाट आउने विद्यार्थीहरुलाई ल्याउन र लैजानका लागि बसको व्यवस्था गर्ने, यसका साथै मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था गर्ने’ प्रतिवेदनमा औल्याइएको छ ।
पार्टी नेतृत्वले चुनावका बेला एमाले–माकेले घोषणा गरेका कार्यक्रमहरु नेकपासम्म आइपुग्दा छाडेर अलपत्र पारेको समेत स्मरण गराएका छन् ।