काठमाडौं, २७ मंसिर ।
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले संघका केन्द्रीय सदस्य चमनलाल माझीको गिरफ्तारप्रति आपत्ति जनाएको छ । नेता माझीलाई संगठनको काममा रहेको अवस्थामा हिजो बुधबार झापा गाउँपालिकाबाट बिनाकारण ‘दलाल सरकार’को निर्देशनमा प्रहरीले गिरफ्तार गरेको भन्दै गिरफ्तारीले सिंगो सुकुम्बासीलाई आक्रोशित तुल्याएको संघका अध्यक्ष ओमप्रकाश पुनले जनाएका छन् ।
नेकपाका पोलिटब्यूरो सदस्य समेत रहेका संघका अध्यक्ष पुनले बुधबारै एक प्रेस विज्ञप्ति जारी गर्दै ‘कथित कम्युनिस्ट’को सरकारले देशैभर सुकुम्बासीलाई बस्तीबाट जबर्जस्त हटाएर बस्तीनै उजाड बनाएको र त्यसको विरोध संघले देशव्यापी संघर्ष छेड्दै आइरहेको समेत विज्ञप्तिमा स्मरण गराएका छन् ।
नेता माझी सुकुम्बासी संघका मेची संयोजक समेत हुन् । संघले लाखौं सुकुम्बासीको मुक्तिका निम्ति सशक्त पहल लिइरहेको र यसप्रतिको जनलहर देखेर ‘भ्रष्ट सुरक्षा प्रशासन’ले सुकुम्बासीका नेताहरुलाई देशैभर निगरानी गर्ने, गिरफ्तार गरी दिई हिरासतमा राख्ने र झुठा मुद्दा लगाएर जेल हाल्ने हर्कत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
संघका अर्का केन्द्रीय सदस्य तथा भेरी–कर्णाली संयोजक प्रकाश आचार्यलगायत चार जना साथीहरूलाई झुठा अभियोग लगाएर नि बाँकेको जेलमा बन्दी जीवन बिताउन बाध्य पारिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हाम्रो संगठनका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली संयोजक प्रकाश आचार्यलगायत चार जना साथीहरू अहिले पनि बाँकेको जेलमा बन्दी जीवन बिताइरहेका छन् । पुनः झापामा केन्द्रीय सदस्य चमनलाल माझीको गिरफ्तारीले हामीलाई थप आक्रोशित पारेको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेता माझीको गिरफ्तारले संघ आक्रोशित बनेको उल्लेख गर्दै गिरफ्तार गरिएका उनलाई तत्काल बिनासर्त रिहा गर्न जोडदार माग गरिएको छ । रिहा नगरिए देशव्यापी संघर्षको घोषणा गर्ने चेतावनी दिँदै अध्यक्ष पुनले त्यस संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवार ‘केपी ओली नेतृत्वको दलाल सरकार हुने’ प्रष्ट रुपमा जानकारी दिएका छन् ।
विज्ञप्तिको पूर्णपाठः
प्रेस विज्ञप्ति
हाम्रो गौरवशाली संगठन अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य तथा मेचीका संयोजक कमरेड चमनलाल माझीलाई केपी ओलीको दलाल सरकारको भ्रष्ट सुरक्षा प्रशासनले यहि मंसिर २६ गते झापाको झापा गाउँ पालिकाबाट संगठनको काममा क्रियाशिल भइरहेको बेला गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कथित कम्युनिस्ट नाम मात्रको दलाल समाजिक फाँसिवादी सरकारले अहिले देशका विभिन्न ठाउँमा सुकुम्बासी बस्तीहरु उजाड गर्दै गरेको बिरोधमा हाम्रो संगठनले शसक्त बिरोध र संघर्ष गर्दै आएको छ । त्यसबाट अत्तालिएर दलाल सरकारले हाम्रो संगठनका धेरै नेता कार्यकर्तालाई बिनाकारण झुट्ठा मुद्दा लगाएर जेल र हिरासतमा राख्दै आएको छ ।
हाम्रो संगठनका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली संयोजक प्रकाश आचार्यलगायत चार जना साथीहरू अहिले पनि बाँकेको जेलमा बन्दी जीवन बिताइरहेका छन् । पुनः झापामा केन्द्रीय सदस्य चमनलाल माझीको गिरफ्तारीले हामीलाई थप आक्रोशित पारेको छ । यदि हाम्रा गिरफ्तार साथीहरूलाई बिनासर्त रिहाई नगरे हामी संगठनको तर्फबाट देशब्यापी संघर्षको घोषणा गर्न बाध्य हुनेछौं । जसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं दलाल केपी ओलीको सरकार हुनेछ ।
……………………..
ओम प्रकाश पुन
अध्यक्ष अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ
केन्द्रीय समिति
फाइल तस्बीर