जनकपुर, २५ मंसिर ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउनुअघि नै भारतबाट बुलेटप्रुफ गाडी जनकपुर ल्याइएको छ । यसबाहकेक ज्यामर सहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि भित्र्याइएको छ ।
सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी गराए । भारतीय दूतावासका डिसिएम डा. अजय कुमारका अनुसार मुख्यमन्त्री आदित्यनाथ बुधबार भारतको लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउने छन् ।
त्यहाँबाट उनी सोझै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ । पूजा सकिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ओजना गरेको दिवाभोजमा सहभागी हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन पुग्ने छन् । दिवाभोज सकिएपछि उनी बारहबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने बताइएको छ ।
विवाह पञ्चमीमा लाखौंको संख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रहरीले जनाएको छ ।
सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबार देखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए ।
फाेटाेः गुगलबाट