कपिलवस्तु, २२ मंसिर ।
यहाँको बाणगंगामा एक स्थानीयलाई भ्रष्टचारी र व्यभिचारी भएको भन्दै नेकपा निकट जनपरिषद्ले कारवाहीस्वरुप कालोमोसो दलेको छ ।
शनिबार बाणगंगा नगरपालिका–३ कर्महनाका युवराज भुसाललाई जनपरिषद्ले ‘जनकारवाही’स्वरुप कालोमोसो देलेको जनाएको छ ।
भुसालमाथि मुद्दामामिला मिलाइदिने निहुँ बनाएर नागरिकसँग मोटो रकम असुलेको, विभिन्न बहानामा बनाई महिलाहरुसँग अनैतिक सम्बन्ध राख्दै आएकोलगायत आरोप लगाइएको छ ।
त्यस्तै समाजमा रहेर दलाल, सुद्खोर, भ्रष्टचारी र व्याभिचारीको भूमिकामा देखा पर्दै जनतालाई अनावश्यक रुपमा दुःख दिने र अन्यायमा पार्ने काम गर्दै आएको आरोप पनि भुसाललाई लगाइएको छ । आरोपहरुलाई हस्तलिखित पत्र कालोमोसो दलिएको क्षेत्रमा छरिएको अवस्थामा पाइएको छ । भुसाललाई भनेको नमान्नेहरुव्रिद्ध झुठा मुद्दा लगाउने धम्की समेत दिने गरिएको आरोप छ । अबका दिनमा त्यस्ता हर्कत नदोहोर्याउन र भ्रष्टचार गरेको रकम सार्वजनिक गरी फिर्ता गर्न समेत जनपपरिषद्ले अपिल गरेको छ ।
कारवाही वाणगंगा नगर जनपपरिषद्ले गरेको हो । नेकपाले जनपरिषद्लाई जनताको सत्ता अर्थात जनताको सत्ताको रुपमा ब्यूँझाएको हो । जनयुद्धकालमा जनताको नियमित कामकारवाही गर्न भनी तत्कालीन नेकपा (माओवादी)ले जनसत्ता चलाएको थियो ।
नेकपाले भ्रष्टचारी, दलाल, तस्कर तथा माफियाको आरोपमा कालोमोसो दल्दै आएको छ । यसअघि भ्रष्टचार गरेको भन्दै तत्कालीन अख्तियार दुरुपयोग आयोगका अध्यक्ष लोकमानसिहं कार्कीलाई मुद्दाको पेशीका लागि सर्वोच्च अदालत पुग्दा अदालतभित्रै नेकपाले कालोमोसो दलेको थियो ।