काठमाडाैं, २२ मंसिर ।
प्रदेश–५ को नाम र स्थायी राजधानी तोक्न गठन भएको विशेष समितिले गठन भएको ४ महिनापछि कार्यविधि बनाउन उपसमिति गठन गरेको छ ।
कार्यविधिलाई अन्तिम रूप दिन समितिका संयोजक दीपेन्द्र पुनमगरको संयोजकत्वमा उपसमिति गठन गरेको समितिले जनाएकाे छ ।
उपसमितिमा रमा अर्याल र तुलसी चौधरी सदस्य हुनुहुन्छ । संयोजक पुनमगरले कार्यविधि तयार भएपछि समितिले विज्ञहरू नियुक्त गर्ने र विभिन्न जिल्लामा पुगेर सुझाव संकलन गर्ने बताउनुभयो । संविधानको धारा २८८ मा प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश सभाको गत साउन २४ गतेको बैठकले १५ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
गठन भएको चार महिना बितिसक्दा समितिले नेतृत्व पाएपनि अन्य कुनै काम गर्न सकेको छैन । काग्रेसका तर्फबाट समितिका सदस्य बनेका वीरबहादुर रानाले सत्तारुढ दलले नचाहेका कारण समितिले काम गर्न नसकेको आरोप लगाउनुभयो । तीन वटा प्रदेशले भने नाम र स्थायी राजधानी तोकिसकेका छन् । प्रदेश १, २, ३ र ५ ले नाम र स्थायी राजधानी तोक्न बाँकी छ ।