प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत तथा केन्द्रीय आमन्त्रित सदस्य आनन्द विष्ट र अमरसिंह पुनले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको थियो ।
मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्काे बैठक भोलि शनिबार बिहान ९ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्रीले हालै एक टेलिभिजनको कार्यक्रममा व्यक्त गर्नुभएको शब्दहरुप्रति असहमति प्रकट गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणका दोषीहरुलाई कारवाहीको कठघरामा ल्याउन पनि बैठकले सरकार समक्ष माग गरेको छ ।
काग्रेसकाे राजनीतिक दस्तावेजमा के छ ?
कांग्रेसले कम्युनिस्टहरुसँग वैचारिक संघर्ष सुरु भएको उद्घोष गरेको गर्दै संसदमा दुई तिहाई सरह शक्ति आर्जन गरेपछि सत्तारुढ नेकपाको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको ठहर गरेकेा छ ।
कम्युनिस्ट पार्टीहरु लोकतान्त्रिक वातावरण र शक्तिहरूविरुद्ध गोलबद्ध हुँदै गएको र नेकपा नेतृत्वको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मूख भएको कांग्रेसको अाफ्नाे राजनितिक दस्तावेजमा ठहर गरेकेा छ ।
केन्द्रीय सदस्य नरहरि आचार्यले ३० पृष्ठ लामो ‘नेपाली कांग्रेसको राजनीतिक प्रस्ताव ०७५’ नामक राजनीतिक दस्तावेज शुक्रबार मस्यौदा समितिमा पेश भएको छ ।
राजनीतिक प्रस्तावमा कांग्रेसले संविधान र त्यसका मूल विषयहरु संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत आफ्नो नेतृत्वमा भएको उपलब्धी भनेको छ । कांग्रेसले यसप्रति पूर्ण प्रतिवद्ध रहने बताउँदै संविधानको रक्षाका साथै सुशासन, राजनीतिक स्थिरता र विकासका पक्षमा कम्युनिस्टहरुसँग सहकार्य गर्न सकिने बताएको छ ।
दस्तावेजमा भनिएकाे छ, ‘एमाले र माओवादी एकताको मुख्य उद्देश्य लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट सत्ता र राज्यमा कम्युनिस्टहरूको एकतर्फी एकदलीय बर्चश्व स्थापित गराउनु थियो । निर्वाचनपछि कम्युनिस्टहरूको एउटै दल बनाउने र राज्यलाई कम्युनिस्ट पार्टीअन्तर्गत चलाउने काम तीव्र रुपमा अगाडि बढिरहेको छ । देशमा जति कम्युनिस्ट पार्टी छन्, सबै एउटै ध्येयमा छन् ।’
रुपमा कोही उग्र देखिए पनि सारमा सबै कम्युनिस्ट लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिहरूविरुद्ध गोलबद्ध हुँदै गएको कांग्रेसको विश्लेषण छ । ‘त्यसैले कांग्रेस कम्युनिष्टहरूको लोकतान्त्रीकरण छलछाम र धोखाधडी हो कि भन्ने संशय गर्न बाध्य भएको छ’ प्रस्तावमा भनिएको छ, ‘वर्तमान साम्यवादी सत्ता लोकतन्त्रका मूल्य र धरोहरविरुद्ध सक्रिय हुँदै लोकतन्त्रका अभ्यासहरु प्रयोग गरी लोकतन्त्रलाई मास्दै एकदलीय सर्वसत्तावादतर्फ अगाडि बढ्न लागेको प्रतीत हुन्छ ।’
साम्यवादी दलहरुको अलोकतान्त्रिक चरित्र, उद्देश्य र व्यवहारविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने कांग्रेसको अठोट छ । ‘तसर्थ कांग्रेस नेपाली कम्युनिष्टहरूसँगको सम्बन्धमा स्पष्ट वैचारिक संघर्ष सुरु भएको ठान्दछ’ प्रस्तावमा भनिएको छ ।
यस्तै कांग्रेसले आफ्नो राजनीतिक प्रतिवेदनमा राप्रपा र मधेसकेन्दि्रत दलहरुका बारेमा पनि विश्लेषण गर्दै राप्रपा विभिन्न गुटमा विभाजित कट्टर पुरातनपन्थी पार्टी भएको र उसका क्रियाकलाप लोकतन्त्रविरोधी भएको विश्लेषण छ ।
यस्तै ‘मधेसकेन्दि्रत दलहरु पनि लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएकाे भनेकेा छ। दस्तावेजमा भनिएकाे छ, जातीय, क्षेत्रीय र साम्प्रदायिक अतिवादहरु राष्ट्रियता, लोकतन्त्र, संघीयता र गणतन्त्रसहित वर्तमान उपलव्धिका विरोधी हुन् ।’